काठमाडौं । नेपाली चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको यो टिजर दर्शकको मन छुने खालको छ ।
टिजर सुरु हुन्छ — ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादसँगै । पहिलो दृश्यमै मुख्य पात्र दिव्यदेव पन्त देखिन्छन् — जुत्तादेखि टाउकोसम्म रगतले भिजेका । यो दृश्यले उनी कुनै ठूलो र भयावह घटनाबाट भर्खरै फर्किएको संकेत दिन्छ। उनको हिँडाइ र अनुहार हेर्दा परिवारकै कुनै सदस्यसँग केही अनिष्ट भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
आफ्नो घर अगाडि पुग्दा दिव्यदेवको मस्तिष्कमा विगतका दृश्यहरू एकपछि अर्को गर्दै आउन थाल्छन् — आफ्नो सुन्दर र खुसी परिवारका यादहरू । त्यसपछि अचानक परिवारमा ठूलो विपत्ति आइपुगेको दृश्य देखिन्छ । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी, अत्तालिएका परिवारका सदस्यहरू र भागदौड गर्दै गरेका गाउँलेहरूले कुनै ठूलो दुर्घटनाको आभास दिन्छन् ।
टिजरमा एउटा मार्मिक संवाद पनि आउँछ — ‘आज बाउको मुख हेर्ने दिन, तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएनन् ।’ यसै बेला दिव्यदेव एउटा गाडीमा कतै जाँदै गरेको, र आमाछोरी झरना थापा र सुहाना थापा आँसु बगाइरहेको दृश्य देखिन्छ ।
टिजरले एउटा भरिपूर्ण परिवार कसरी अचानक तहसनहस हुन्छ भन्ने देखाएको छ, तर त्यसको कारण भने अझै रहस्यमै राखिएको छ । यो चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई केन्द्रमा राख्ने बताइएको छ ।
चलचित्र भदौ १९ गते, कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा र सुहाना थापाका साथै माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाले मुख्य भूमिका निभाएका छन् ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्सालले यो चलचित्रको लेखन र निर्देशन गरेका छन् । फिचर फिल्ममा यो उनको पहिलो निर्देशन हो । कथा र पटकथा पनि उनले नै लेखेका छन् । चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित छ भने वसन्त लम्साल निर्माता हुन् । शिवराम श्रेष्ठले छायाङ्कन गरेको यो चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । वितरणको जिम्मा आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ ।
