समाचार

फोटो पत्रकारका लागि दुईदिने ‘एआई सीप’ कार्यशाला काठमाडौंमा सुरु

By अर्जुन भट्टराई •

फोटो पत्रकारका लागि दुईदिने ‘एआई सीप’ कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजनामा फोटो पत्रकारहरूका लागि ‘एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।

साउन ९ र १० गते बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने यो दुईदिने कार्यशाला काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा भइरहेको छ। उक्त स्कुलले नै कार्यशालाको प्रायोजन समेत गरेको छ। आईटी विशेषज्ञ अजय शर्माले कार्यशालामा प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्।

कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ, मोबाइल पत्रकारिता, एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, एआईको नैतिक प्रयोग र डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइनेछ।

सहभागी फोटो पत्रकारहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण, अडियो रेकर्डिङ र एआई उपकरणहरूको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी सीप हासिल गर्नेछन्। यसका साथै समाचार कक्षमा एआईको प्रयोग, उत्पादकत्व वृद्धि र सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइनेछ।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी उनीहरूको व्यावसायिक दक्षता बढाउने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको बताए। आधुनिक फोटो पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास विकास गर्न यो कार्यशाला महत्त्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ।

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सहभागितामा सञ्चालित यो कार्यशाला साउन १० गते समापन हुनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.