समाचार

फेसबुक मोनेटाइजेसनको आकर्षण र व्यक्तिगत गोपनीयताबीचको सन्तुलन

By अर्जुन भट्टराई •

फेसबुक मोनेटाइजेसनको आकर्षण र व्यक्तिगत गोपनीयताबीचको सन्तुलन

तोमनाथ उप्रेती\n\nडिजिटल युगले मानिसको जीवनशैली, सञ्चार र आयआर्जनको तरिकालाई पूरै बदलिदिएको छ। केही वर्षअघिसम्म समाचार, मनोरञ्जन र विचार आदानप्रदानका साधन मात्र मानिएका सामाजिक सञ्जालहरू अहिले व्यवसाय, शिक्षा, विज्ञापन र आम्दानीका महत्त्वपूर्ण थलो बनेका छन्। विशेष गरी फेसबुकले मोनेटाइजेसनको सुविधा दिएपछि हजारौँ मानिस सिर्जनशील सामग्री बनाउनमा सक्रिय भएका छन्। आफ्नो सीप, ज्ञान, कला र अनुभव संसारसामु राखेर सम्मान र आर्थिक लाभ दुवै पाउन सकिने भएकाले यो परिवर्तन सकारात्मक पनि हो।\n\nतर प्रत्येक अवसरसँग जिम्मेवारी पनि आउँछ। समस्या त्यतिबेला सुरु हुन्छ, जब मोनेटाइजेसन लक्ष्य नभई मोह बन्छ र फलोअरको संख्या उपलब्धि नभई लत बन्छ। त्यसपछि सामग्रीको गुणस्तरभन्दा बढी भाइरल हुने उपायमा ध्यान जान थाल्छ। यहीँबाट गोपनीयता, नैतिकता र आत्मसम्मानसँग सम्झौता सुरु हुन्छ।\n\nअहिले फलोअर बढाउने होडले मानिसलाई आफ्नो व्यक्तिगत जीवनका निजी पक्षहरूसमेत सार्वजनिक गर्न उक्साइरहेको छ। परिवारभित्रका विवाद, बालबालिकाका संवेदनशील दृश्य, बिरामी अवस्थाका भिडियो, आँसुका क्षण, श्रीमान–श्रीमतीका व्यक्तिगत कुराकानी, वृद्ध आमाबुबाका कमजोरी, घरको ठेगाना, बैंकिङसम्बन्धी जानकारी र दैनिक दिनचर्यासमेत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ। यसले केही समयका लागि धेरै प्रतिक्रिया र फलोअर दिलाउन सक्छ, तर दीर्घकालीन असर भने गम्भीर हुन सक्छ।\n\nडिजिटल संसारको एउटा कठोर सत्य के छ भने इन्टरनेटले बिर्सँदैन। कुनै सामग्री एकपटक सार्वजनिक भएपछि त्यसलाई पूर्ण रूपमा हटाउन लगभग असम्भव हुन्छ। कसैले स्क्रिनसट लिन, प्रतिलिपि बनाउन, डाउनलोड गर्न वा अर्को सञ्जालमा पुनःप्रकाशित गर्न सक्छ। त्यसैले ‘पछि मेटाइदिन्छु’ भन्ने सोचले डिजिटल जोखिम कम गर्दैन। आज सामान्य लागेको पोस्ट भोलि रोजगारी, व्यवसाय, सामाजिक सम्बन्ध वा व्यक्तिगत प्रतिष्ठाका लागि समस्या बन्न सक्छ।\n\nआजकल धेरै मानिसहरू फलोअरको संख्यालाई सफलताको पर्याय ठान्न थालेका छन्। तर इतिहासले फरक सत्य सिकाउँछ — भीडले ताली बजाउन सक्छ, तर चरित्रको प्रमाणपत्र दिँदैन। लोकप्रियता एल्गोरिदमले दिन सक्छ, तर विश्वास केवल आचरणले कमाइन्छ। हजारौँ लाइकले व्यक्तित्व महान् हुँदैन, एउटा सच्चा विश्वासले मानिस महान् बन्छ।\n\nवास्तविक प्रश्न कति मानिसले पछ्याए भन्ने होइन, लडेको बेला कति मानिस साथमा उभिन्छन् भन्ने हो। सामाजिक सञ्जालका फलोअरहरू स्क्रिनमा देखिने अंक मात्र हुन सक्छन्, तर जीवनका कठिन घडीमा साथ दिने मानिसहरू वास्तविक पूँजी हुन्। फलोअरहरू एक भाइरल भिडियोसँग आउन सक्छन् र अर्को भाइरल भिडियोसँगै हराउन सक्छन्। तर इमानदारी र विश्वसनीयताले कमाएको सम्मान समयसँगै अझ गहिरो हुँदै जान्छ।\n\nआजको विडम्बना के छ भने मानिसहरू प्रतिष्ठा निर्माणभन्दा लोकप्रियता उत्पादन गर्न व्यस्त छन्। चरित्रभन्दा कन्टेन्ट, मूल्यभन्दा भ्यु र सत्यभन्दा ट्रेन्डलाई महत्त्व दिने प्रवृत्ति बढ्दो छ। तर क्षणिक चर्चाले प्रसिद्ध बनाउन सक्छ, विश्वसनीयताले मात्र दीर्घकालीन सम्मान दिलाउँछ। पैसा गुमे फेरि कमाउन सकिन्छ, फलोअर घटे फेरि बढाउन सकिन्छ, तर एकपटक गुमेको विश्वास पुनः प्राप्त गर्न वर्षौँ लाग्न सक्छ — कहिलेकाहीँ जीवनभर पनि सम्भव हुँदैन। सामाजिक सञ्जालमा सबैभन्दा ठूलो सम्पत्ति फलोअरको संख्या होइन, मानिसको विश्वास, आफ्नो चरित्र र आत्मसम्मान हो। यो सम्पत्ति कुनै एल्गोरिदमले न दिन सक्छ, न खोस्न सक्छ।\n\nमोनेटाइजेसनको नाममा मानिसले कहिलेकाहीँ आफ्नै जीवनलाई सामग्री बनाउन थाल्छ। बिहान उठेदेखि राति सुत्दासम्मको प्रत्येक गतिविधि क्यामेरामा कैद गर्नुपर्ने बाध्यता महसुस हुन थाल्छ। परिवारसँग बिताउने समय पनि भिडियोको दृश्य बन्छ। यात्राको आनन्दभन्दा राम्रो भिडियो बनाउने चिन्ता बढ्छ। यसरी जीवन बाँच्नेभन्दा जीवन प्रदर्शन गर्ने संस्कृतिको विकास हुन्छ। दार्शनिक गाइ देबोर्डले भनेझैँ, आधुनिक समाजमा वास्तविक अनुभवभन्दा त्यसको प्रदर्शन बढी महत्त्वपूर्ण बन्ने जोखिम हुन्छ। सामाजिक सञ्जालको अति प्रयोगले यही प्रवृत्तिलाई अझ तीव्र बनाइरहेको छ।\n\nसाइबर सुरक्षा पनि उत्तिकै गम्भीर विषय हो। आफ्नो घर, सन्तान, यात्रा, आर्थिक अवस्था, सम्पत्ति वा व्यक्तिगत विवरण बारम्बार सार्वजनिक गर्दा साइबर अपराधी, ठग वा दुरुपयोग गर्न खोज्नेहरूलाई आवश्यक जानकारी सजिलै उपलब्ध हुन्छ। धेरै देशहरूमा अत्यधिक व्यक्तिगत जानकारी सार्वजनिक गरेका कारण आर्थिक ठगी, पहिचान चोरी, ब्ल्याकमेल र साइबर उत्पीडनका घटना बढिरहेका छन्। त्यसैले गोपनीयता व्यक्तिगत अधिकार मात्र होइन, व्यक्तिगत सुरक्षा पनि हो।\n\nनेपालमै पनि सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जना भएका समस्याका उदाहरण प्रशस्तै छन्। व्यक्तिगत भिडियो वा तस्बिरको दुरुपयोग, नक्कली फेसबुक प्रोफाइल, डिजिटल ब्ल्याकमेल, अनधिकृत सम्पादन, चरित्र हत्याका अभियान र साइबर दुर्व्यवहारका घटनाहरू समयसमयमा सार्वजनिक हुँदै आएका छन्। सामाजिक सञ्जालमा साझा गरिने प्रत्येक जानकारी जिम्मेवारीपूर्वक साझा हुनुपर्छ।\n\nयसको अर्थ मोनेटाइजेसन गलत हो भन्ने होइन। शिक्षामूलक सामग्री, साहित्य, विज्ञान, कृषि, स्वास्थ्य, पर्यटन, कला, भाषा, उद्यमशीलता वा सामाजिक चेतनासम्बन्धी गुणस्तरीय सामग्री बनाएर आय आर्जन गर्नु अत्यन्त प्रशंसनीय कार्य हो। विश्वका धेरै सफल डिजिटल सिर्जनाकर्ताले आफ्नो निजी जीवनभन्दा आफ्नो ज्ञान, सीप र सिर्जनशीलतालाई प्रस्तुत गरेर दीर्घकालीन सफलता हासिल गरेका छन्। उनीहरूको सफलता गोपनीयता बेचेर होइन, गुणस्तरीय सामग्री निर्माण गरेर आएको हो।\n\nहामीले आफैँलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुपर्छ — यदि मोनेटाइजेसन बन्द भयो भने पनि के मैले यही सामग्री सार्वजनिक गर्थें? यदि उत्तर हो भने त्यो सामग्री सम्भवतः मूल्यवान् छ। यदि उत्तर होइन भने हामीले केवल एल्गोरिदमलाई खुसी पार्न आफ्नै गोपनीयता खर्च गरिरहेका हुन सक्छौँ।\n\nसामाजिक सञ्जालमा सफल हुन सनसनी होइन, निरन्तरता चाहिन्छ। विवाद होइन, विश्वसनीयता चाहिन्छ। व्यक्तिगत रहस्य होइन, उपयोगी ज्ञान साझा गर्नुपर्छ। धेरै फलोअर बटु

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.