जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं. ६ मा छापा मारी दुवै कारोबारीलाई नियन्त्रणमा लिएको हो।
धनुषा प्रहरीका अनुसार पक्राउ परेकाहरूमा भारतको मधुवनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महतो र सोही ठाउँका ४५ वर्षीय मिथिलेश साहु छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको थियो।
दुवै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। यसका साथै दुई वटा मोबाइल फोन, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमतिपत्र पनि उनीहरूसँगबाट फेला परेको छ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ।
