काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पहिले पूर्वाधार बनाउन र व्यावहारिक नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सिटौलाले भने, ‘ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना फैलाउने काममा मेट्रो ट्राफिक एफएम ९५.५ जस्तो विश्वसनीय अर्को एफएम छैन। ट्राफिक प्रहरीका जवानदेखि उच्च तहसम्म सबैलाई सलाम गर्न चाहन्छु।’
उनले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै भने, ‘ट्राफिक प्रहरी सडकमा नहुँदा शहरै अस्तव्यस्त हुन्छ।’
सिटौलाले मेट्रो ट्राफिक एफएमलाई सरकारले आर्थिक रूपमा सहयोग गर्नुपर्नेमा जोड दिए। ‘आज विज्ञापन मागेर देउसी खेल्न घर–घर जानुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ। सरकारले सम्बन्धित मन्त्रालय वा निकायमार्फत यसलाई साधन–स्रोतसहित अगाडि बढाउनुपर्छ। मेट्रो ट्राफिक एफएमको आवाज नेपालको कुना–काप्चासम्म पुग्न सकोस्,’ उनले भने।
विदेशी मुलुकको नक्कल गरेर नेपालमा नीति लागू गर्न नहुने धारणा राख्दै सिटौलाले भने, ‘अमेरिका र युरोपका सडक हेरेर नेपालको नियम र नीति बनाउनु हुँदैन। सिंहदरबारमा बसेर राम्रो नीति नआएकै कारण आज लगानीकर्ता पनि खुसी छैनन्, कामदार पनि खुसी छैनन्। सडक होइन, नीति नै भद्रगोल छ।’
काठमाडौं उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको उल्लेख गर्दै उनले भने, ‘काठमाडौं उपत्यकामा मात्र २३ लाख मोटरसाइकल र २६ लाखभन्दा बढी सवारी साधन छन्। यी कहाँ गुड्ने? त्यसैले पहिला पूर्वाधारको व्यवस्था गरिदिनुहोस्।’
