काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो ऊर्जालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य भइसकेको बताएका छन् ।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले विद्युत उत्पादनमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहे पनि व्यापारको क्षेत्रमा भने अझै पर्याप्त अवसर खुल्न नसकेको उल्लेख गरे ।
उनले बदलिँदो ऊर्जा बजार र क्षेत्रीय विद्युत व्यापारको सम्भावनालाई ध्यानमा राख्दै निजी क्षेत्रको सहभागिताबारे समयमै निर्णय लिन आवश्यक भएको बताए । यसका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले सकारात्मक रूपमा अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ‘बिजनेस–टु–बिजनेस (बी–टु–बी)’ मोडलमार्फत अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक अनुमति दिने विषयमा आफू सकारात्मक रहेको स्पष्ट पारे । ऊर्जा खपत तथा निर्यात रणनीति कार्यान्वयनको यस चरणमा विद्युत व्यापार निजी क्षेत्रका लागि नयाँ लगानी र व्यावसायिक अवसर बन्न सक्ने उनको भनाइ थियो ।
तर उनले निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउँदा नेपाल विद्युत प्राधिकरणको भूमिका, अधिकार र जिम्मेवारी सुरक्षित राख्नुपर्ने र राज्यले पाउने प्रतिफलमा कुनै असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए । खुला पहुँच (ओपन एक्सेस) प्रणाली, साझा प्रसारण पूर्वाधारको उपयोग, दायित्व बाँडफाँट र विद्युत व्यापारको डिजिटल व्यवस्थापनजस्ता विषयमा पनि विस्तृत अध्ययन आवश्यक रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विस्तारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै अर्थतन्त्रलाई एक सय खर्ब रुपैयाँको आकारमा पुर्याउने राष्ट्रिय लक्ष्यमा ऊर्जा क्षेत्र निर्णायक भूमिका खेल्न सक्ने बताए ।
