काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाकृत प्रगति हुन सकेको छैन। सन् २०१६ देखि सुरु भएको यो सेवाअन्तर्गत हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएका छन्।
केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले यो प्रगतिलाई निकै सुस्त बताउँदै दक्ष जनशक्तिको अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी यसका प्रमुख कारण रहेको बताए।
उनका अनुसार सुरुमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट सेवा सुरु भएकोमा पछि त्रिवि शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केएमसी र नेपाल मेडिसिटी अस्पतालमा पनि यो सेवा विस्तार भएको छ। तथापि अस्पताल थपिए पनि प्रत्यारोपणको संख्या बढ्न सकेको छैन।
डा. पौडेलले कलेजो पूर्ण रूपमा बिग्रिएपछि नयाँ कलेजो राख्ने प्रक्रियालाई लिभर ट्रान्सप्लान्ट भनिने बताए। यो अवस्था प्रायः लिभर सिरोसिसका बिरामीमा आउँछ। उनका अनुसार सिरोसिसमा कलेजोका कोषहरूमा जालो परेर कलेजो बिस्तारै कडा र खुम्चिँदै जान्छ। समयमै उपचार नभए कलेजो पूर्ण रूपमा बिग्रिन्छ र त्यस्ता बिरामीलाई कलेजो प्रत्यारोपणबाट मात्रै नयाँ जीवन दिन सकिन्छ।
कलेजो फेल हुनुका कारणबारे उनले भने, ‘क्रोनिक लिभर फेलर प्रायः सिरोसिसका कारण हुन्छ भने एक्युट लिभर फेलर औषधिको असर, विषादी, विषाक्त पदार्थ वा हेपाटाइटिस ‘ए’ र ‘ई’ संक्रमणका कारण अचानक हुन सक्छ। यस्ता अवस्थामा औषधिले सहयोग मात्र गर्छ, अन्तिम उपचार भनेको कलेजो प्रत्यारोपण नै हो।’
कलेजो प्रत्यारोपण जीवित र मृत दुवै व्यक्तिबाट गर्न सकिन्छ। जीवित व्यक्तिले आफ्नो कलेजोको ५० देखि ६० प्रतिशतसम्म भाग सुरक्षित रूपमा दान गर्न सक्छन्। तर त्यसका लागि रक्तसमूह मिल्नुपर्ने र नेपाल सरकारको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नेपालमा कानुनी रूपमा नाता प्रमाणित भएका व्यक्तिले मात्रै कलेजो दान गर्न पाउँछन्। मृत व्यक्तिबाट पनि समयमै कलेजो निकालेर प्रत्यारोपण गर्न सकिन्छ, जसलाई डिसिज्ड डोनर लिभर ट्रान्सप्लान्ट भनिन्छ।
प्रत्यारोपणपछि शरीरले नयाँ कलेजोलाई अस्वीकार गर्न सक्ने भएकाले बिरामीले जीवनभर इम्युनोसप्रेसन्ट औषधि सेवन गर्नुपर्ने डा. पौडेलले बताए।
सफलता दरबारे उनले जानकारी दिँदै भने, विश्वव्यापी रूपमा कलेजो प्रत्यारोपणको एक वर्षको सफलता दर ९० देखि ९२ प्रतिशत रहेको छ भने नेपालमा पनि ८५ प्रतिशतभन्दा बढी सफलता हासिल भइरहेको छ।
दक्ष जनशक्तिको अभावका कारण अहिले पनि कतिपय प्रत्यारोपणमा भारतलगायतबाट विशेषज्ञ टोली बोलाउनुपर्ने बाध्यता रहेको उनले बताए। ‘सरकारले जनशक्ति विकास, प्राविधिक सहयोग र आर्थिक सहुलियतमा लगानी गरे प्रत्यारोपण सेवा धेरै विस्तार गर्न सकिन्छ,’ उनले भने।
केएमसी अस्पतालमा हालसम्म छ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन्। अस्पतालमा हप्तामा एउटा प्रत्यारोपण गर्न सक्ने क्षमता र आवश्यक सबै उपकरण रहेको डा. पौडेलले बताए। एउटा प्रत्यारोपणमा औसत ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्छ। सरकारले यसमा कुनै आर्थिक सहयोग नगर्ने भएकाले बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्छ। तथापि अस्पतालका अध्यक्ष डा. सुनिल शर्माको पहलमा अन्य अस्पतालको तुलनामा केही सहुलियत दिने प्रयास भइरहेको उनले जानकारी दिए।
कलेजो स्वस्थ राख्न डा. पौडेलले समयमै हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण गर्न, हेपाटाइटिस ‘ए’ र ‘बी’ विरुद्धको खोप लगाउन, स्वस्थ आहार खान, नियमित व्यायाम गर्न, तौल नियन्त्रण राख्न, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्न तथा मदिरापान पूर्ण रूपमा त्याग्न सुझाव दिए। उनका अनुसार अहिले अत्यधिक मोटोपना, मधुमेह र मदिरापानका कारण कलेजो रोग बढिरहेको छ। समयमै सचेत भए लिभर सिरोसिस, लिभर फेलर र कलेजोको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ।
