अर्थ

नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड, सीईओले भने— ‘यो विश्वासको परिणाम हो’

By अर्जुन भट्टराई •

नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड, सीईओले भने— ‘यो विश्वासको परिणाम हो’

काठमाडौँ। नबिल बैंक लिमिटेडले युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत एकैपटक तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हासिल गरेको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ — यी तीनवटा उपाधि एकसाथ प्राप्त गरेको हो।

यी पुरस्कारले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास, वातावरणीय तथा सामाजिक सुशासन (ईएसजी) प्रतिबद्धता र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा पु¥याएको योगदानलाई मान्यता दिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यी सम्मान पाउँदा बैंक अत्यन्त गौरवान्वित भएको बताए। उनले भने, ‘युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरू ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो। यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएका छन्। आगामी दिनहरूमा पनि हामी उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान दिइरहनेछौँ।’

बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने युरोमनी अवार्डस् फर एक्सिलेन्स ती संस्थाहरूलाई प्रदान गरिन्छ, जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादनमार्फत आफ्नो बजारमा उल्लेखनीय प्रभाव पारेका हुन्छन्।

‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहकमुखी नवप्रवर्तन र डिजिटल क्षेत्रमा नेतृत्वलाई सम्मान गरेको हो। ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वमा बैंकले देखाएको नेतृत्वलाई कदर गरेको छ। त्यसैगरी, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमहरूलाई विशेष कर्जा योजना, वित्तीय सेवा र परामर्श उपलब्ध गराउँदै उद्यमशीलता प्रवर्द्धनमा बैंकले खेलेको भूमिकालाई उजागर गरेको छ।

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक हो। चार दशकदेखि सेवारत यस बैंकले हाल देशभर रहेका २६४ शाखा र ३१५ एटिएम मेसिनमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणाअन्तर्गत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.