समाचार

अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प

By अर्जुन भट्टराई •

अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प

काठमाडौं। देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण धेरै प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। यसले गर्दा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ र सम्बन्धित निकायहरूले यात्रुलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। दिउँसोको समयमा भने यो खण्ड खुला रहनेछ। मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सबै किसिमका सवारी साधनमाथि प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण बाटो हिलो भएर सवारी आवतजावत ठप्प हुँदा मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। तर त्यहाँ वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीको इकु क्षेत्रमा पहिरो र माटोसहितको लेदो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा ढुङ्गा र माटोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाको कटानले लामासाघु–रामेछाप राजमार्ग बन्द भएको छ, तर खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा सुख्खा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलामा पहिरो र ढुङ्गा खस्दा नाग्म–गमगडी सडक खण्ड बन्द भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरोका कारण पासाङ ल्हामु सडक अवरुद्ध भएको छ। त्यसैगरी लमजुङको मस्र्याङदी गाउँपालिका–४ म्याग्दे भिरमा पहिरो झरेकाले बेसीशहर–च्यामे मनाङ सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।

सडक विभाग र सुरक्षा निकायहरू अवरुद्ध सडकहरू खुलाउने काममा जुटेका छन्। यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.