समाचार

खारे खोलाको कटानले दोलखाको लोगटा बस्तीका १५ घर उच्च जोखिममा, १० घर तत्काल सार्नुपर्ने अवस्था

By अर्जुन भट्टराई •

खारे खोलाको कटानले दोलखाको लोगटा बस्तीका १५ घर उच्च जोखिममा, १० घर तत्काल सार्नुपर्ने अवस्था

दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित खारेको लोगटा बस्ती यतिबेला ठूलो संकटमा छ। अविरल वर्षापछि आएको बाढीले खारे खोलाको किनार कटान गर्दा बस्तीका १४–१५ घर उच्च जोखिममा परेका छन्। स्थानीय रवीन्द्र सुरेलका अनुसार यी घरमध्ये करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ।

जमिन कटान बढेपछि पहलबहादुर तमाङ, धनबीर तमाङ र रत्नबहादुर तमाङले आफ्नो घर छाडिसकेका छन् र उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। यसका साथै बुद्धिमान तमाङ, आरतबहादुर तमाङ र दिनेश तमाङका घर पनि उच्च जोखिममा रहेकाले उनीहरूलाई पनि तत्काल स्थानान्तरण गर्नु आवश्यक रहेको स्थानीयले बताएका छन्।

नदी किनारभन्दा केही माथि बसोबास गर्ने भक्तबहादुर तमाङ, धनबहादुर तमाङ र वीरबहादुर तमाङका घर पनि जोखिममुक्त छैनन्। वर्षा भइरहेका बेला उनीहरूले अन्यत्र बस्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

वडाध्यक्ष दावारेन्जी शेर्पाका अनुसार सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा जोखिममा परेका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको छ। हाल अधिकांश प्रभावित परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

घटनाको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीलगायतको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। वडाध्यक्ष शेर्पाले गाउँपालिका र वडा कार्यालयले थप अस्थायी टहरा निर्माण र आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए। आवश्यक व्यवस्थापन पूरा भएपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थायी रूपमा स्थानान्तरण गरिने उनले बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.