काठमाडौं। काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८२/८३ मा प्रविधिको प्रभावकारी प्रयोगमार्फत साइबर अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ र प्रहरी सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
आर्थिक वर्षको वार्षिक समीक्षाका लागि आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले यस वर्षका प्रमुख उपलब्धिहरू सार्वजनिक गरे।
**जेनजी आन्दोलनमा क्षतिग्रस्त कार्यालयको ९७ प्रतिशत पुनःनिर्माण**
एसपी भट्टराईका अनुसार जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका १२७ युनिटमध्ये ९७ वटा प्रहरी कार्यालय क्षतिग्रस्त भएका थिए। यसमध्ये ४२ वटा पूर्ण रूपमा, ३७ वटा आंशिक रूपमा र १८ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका थिए। उनले भने, ‘हामीले तीमध्ये ९७ प्रतिशत प्रहरी कार्यालयको पुनःसम्भार गरिसकेका छौं।’
**एआई क्यामेरा र ड्रोनको प्रयोग**
प्रविधिको माध्यमबाट अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रयास अन्तर्गत यस वर्ष एआई क्यामेरा र एआई ड्रोनको प्रयोग गरिएको छ। एसपी भट्टराईले जानकारी दिए, ‘एआई क्यामेराबाट ५९ जना शंकास्पद व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गरेर कानुनको दायरामा ल्याइएको छ।’
**हतियार बरामद र फरार कैदी पक्राउ**
एक वर्षको अवधिमा परिसरले १८५ वटा हतियार बरामद गर्दै ५३ जनालाई हतियारसम्बन्धी कसुरमा पक्राउ गरेको छ। यसका साथै विभिन्न कारागारबाट फरार रहेका १७५ जना कैदी र ९४ जना थुनुवालाई समातेर सम्बन्धित कारागार तथा प्रहरी इकाइमा बुझाइएको छ।
**फोन र एसएमएसमार्फत सेवाग्राहीसँग सम्पर्क**
प्रहरी सेवाको प्रभावकारिता बढाउन चालु आर्थिक वर्षमा ३० हजार ६ सय पटक फोन सम्पर्कमार्फत सेवाग्राहीसँग काम–कारवाहीको फलोअप गरिएको छ। साथै १ हजार ७ सय एसएमएसमार्फत उजुरीहरूको नियमित फलोअप गरिएको एसपी भट्टराईले बताए।
**भिडियो कन्फ्रेन्सबाट मुद्दा व्यवस्थापन सहज**
पुस महिनादेखि सुरु गरिएको भिडियो कन्फ्रेन्स प्रणालीमार्फत हालसम्म २ हजार २७६ जना अभियुक्त तथा आरोपीहरूको म्याद थप र केही मुद्दामा बयान लिने काम प्रहरी कार्यालयबाटै सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतसँग समन्वय गरेर सम्पन्न गरिएको छ।
**साइबर ठगी : एक वर्षमा १५ करोड ३३ लाखभन्दा बढी ठगी**
साइबर अपराधका घटनामा उल्लेखनीय वृद्धि देखिएको प्रहरीले जनाएको छ। २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ। एक वर्षमा जम्मा २ हजार ३२५ वटा साइबर ठगीका घटना दर्ता भएका छन् र ती घटनामा तत्काल अनुसन्धान अघि बढाइएको एसपी भट्टराईले बताए।
