काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र चालु वर्षको २०८२ पुस महिनासम्मका स्वीकृत स्वास्थ्य बीमा दाबीबापत कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त दाबीहरूमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न भइसकेको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत भएका दाबीहरूको २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।
यसरी आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका सबै स्वीकृत दाबीहरूको भुक्तानी पूर्ण रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध तरिकाले गर्दै आएको पनि उल्लेख गरेको छ।
