समाचार

डा. गोविन्द केसीलाई धनगढीको कृष्ण मन्दिर धर्मशाला छाड्न समितिको पत्र

By अर्जुन भट्टराई •

डा. गोविन्द केसीलाई धनगढीको कृष्ण मन्दिर धर्मशाला छाड्न समितिको पत्र

धनगढी । स्वास्थ्य क्षेत्र सुधारका लागि सात बुँदे माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई नयाँ अप्ठेरो परेको छ । धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह सुरू गरेका केसीलाई मन्दिर व्यवस्थापन समितिले त्यो ठाउँ छाड्न पत्र पठाएको छ ।

पत्र आएपछि अब कहाँ सत्याग्रह जारी राख्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा. अमृत जैसीले बताए । ‘डा. केसीले व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरू गरेका हुन् । यसअघि पनि यही स्थानमा दुईपटक सत्याग्रह बस्नुभएकै हो,’ जैसीले भने, ‘तर अहिले धर्मशाला छाड्न भन्दै पत्र आएको छ, यो राम्रो त होइन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तका अनुसार केसीले कोठामा बस्ने भनेर जानकारी दिएका थिए, तर उनले सत्याग्रह सुरू गरे । यस विषयमा मन्दिर व्यवस्थापन समितिलाई पहिले जानकारी नै नभएको पन्तले बताए । धार्मिक संस्थामा अनसन बस्न किन दिइयो भनेर बाहिरबाट दबाब आउन थालेपछि ठाउँ छाड्न पत्र पठाउनु परेको उनको भनाइ छ ।

अर्कोतर्फ, सुदूरपश्चिम प्रदेशको कैलालीको गेटामा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा डा. केसीले अवरोध सिर्जना गर्न खोजेको भन्दै स्थानीय नागरिकहरूले आरोप लगाएका छन् । केसीले सो विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने पहिलो माग सहित यो सत्याग्रह सुरू गरेका हुन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.