समाचार

डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, बालेन सरकारको प्रचारको तारिफ

By अर्जुन भट्टराई •

डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, बालेन सरकारको प्रचारको तारिफ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको छ ।

संस्थानका प्रवक्ता निलकण्ठ गौतमले नेपाल न्यूज बैंकसँगको कुराकानीमा गत वर्ष फ्लस सिजनमा अपेक्षाभन्दा धेरै दूध संकलन हुँदा त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेको र यसकै कारण नगद प्रवाहमा समस्या आएको बताए। ती उत्पादन बजारमा बिक्री हुन समय लागेकाले किसानको भुक्तानीमा ढिलाइ भएको उनको भनाइ छ ।

तर अहिले अवस्था सुधारिएको छ । ‘पहिला छ–सात महिनासम्मको भुक्तानी बाँकी थियो, अहिले त्यो अवस्था सुधार भएर दुई–तीन महिनाको रेन्जमा आएको छ,’ गौतमले भने ।

उनका अनुसार डीडीसीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका किसानबाट दूध संकलन गर्दै आएको छ । दुर्गम क्षेत्रका किसानको दूधसमेत बजारमा ल्याउने सरकारी दायित्वका कारण निजी डेरीको तुलनामा डीडीसीलाई बढी लागत व्यहोर्नुपर्ने उनले बताए । ‘हामी नजिकको दूध मात्र संकलन गरेर पनि काम चलाउन सक्थ्यौं, तर सरकारको उद्देश्य दुर्गम क्षेत्रका किसानलाई पनि राहत पुर्याउने भएकाले देशभरबाट दूध संकलन गर्छौं,’ उनले भने ।

नयाँ सरकारको चासोपछि बिक्रीमा सुधार

गौतमले नयाँ सरकार गठनपछि डीडीसीका उत्पादनप्रति सरकारले देखाएको चासोले बिक्री बढाउन सकारात्मक भूमिका खेलेको बताए । ‘गर्नुपर्ने प्रचारप्रसार सरकारकै तर्फबाट भएको जस्तो भएको छ, त्यसका कारण दुग्धजन्य पदार्थको बिक्री केही मात्रामा बढिरहेको अवस्था छ,’ उनले भने ।

चाडपर्व, विवाह, व्रतबन्ध तथा धार्मिक कार्यक्रम हुने समयमा दही, लस्सी, मोही, आइसक्रिमलगायतका उत्पादनको माग उल्लेखनीय रूपमा बढ्ने गरेको उनको भनाइ छ ।

मोहीलाई कोल्ड ड्रिंकको विकल्प बनाउने प्रयास

डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङसहित बजारमा ल्याएको छ । स्वास्थ्यका दृष्टिले लाभदायक यो पेय पदार्थलाई कोक, फ्यान्टालगायतका चिनीजन्य पेय पदार्थको विकल्पका रूपमा प्रवर्द्धन गर्न थालिएको गौतमले बताए । ‘उपभोक्ताले स्वदेशी मोही प्रयोग गरे त्यसबाट प्राप्त रकम गाउँका किसानसम्म पुग्छ,’ उनले भने ।

गत वर्ष करिब ५०० मेट्रिक टन बटर र ७०० मेट्रिक टन दूध पाउडर स्टकमा रहेको र अहिले ती उत्पादन क्रमशः बजारमा बिक्री भइरहेको गौतमले बताए । वैशाखदेखि असोजसम्मको ‘लिन सिजन’ मा दूध उत्पादन घट्ने तर बजारमा माग बढ्ने भएकाले यस अवधिमा मौज्दातको बटर र पाउडर खपत हुने उनले जानकारी दिए ।

निजी डेरीसँग प्रतिस्पर्धा चुनौती

डीडीसीले निजी डेरीसँगको प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ । निजी डेरीहरूले नजिकका क्षेत्रबाट दूध संकलन गरी नाफामुखी रूपमा सञ्चालन हुने भएकाले डीडीसीलाई लागत व्यवस्थापनमा कठिनाइ हुने गरेको गौतमले बताए । यद्यपि गुणस्तरका सबै सरकारी मापदण्ड पूरा गर्ने विषयमा डीडीसी अग्रस्थानमा रहेको उनको दाबी छ । ‘गुणस्तरमा अहिले पनि डीडीसी नम्बर वान हो,’ उनले भने ।

४० वर्ष पुरानो प्रविधि, आधुनिकीकरण जरुरी

सन् १९८८ (वि.सं. २०४५) पछि उत्पादन प्रविधिमा ठूलो लगानी हुन नसकेकाले अहिले पनि करिब ४० वर्ष पुरानो प्रणालीबाट उत्पादन भइरहेको गौतमले जानकारी दिए । डिजिटल तथा आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेटलगायतका थप मूल्य अभिवृद्धि भएका दुग्धजन्य उत्पादन नेपालमै बनाउन सकिने उनले बताए । ‘डीडीसी सेवामूलक संस्था भएकाले आफैंले ठूलो नाफा कमाउन सक्दैन, त्यसैले प्रविधि सुधारका लागि सरकारको लगानी आवश्यक छ,’ उनले भने ।

अन्तमा प्रवक्ता गौतमले किसान र उपभोक्ताप्रति आभार व्यक्त गर्दै स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.