समाचार

बाजुरामा बाढी–पहिरोको कहर: १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग ठप्प

By अर्जुन भट्टराई •

बाजुरामा बाढी–पहिरोको कहर: १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग ठप्प

बाजुरा। बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाले बाढी र पहिरोको रूप लिँदा जिल्लाभर ठूलो क्षति पुगेको छ। लगातार वर्षाका कारण जिल्लाका नौवटै स्थानीय तहका साना–ठूला नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ, जसले बस्ती, सडक र कृषिभूमिमा गम्भीर असर पारेको छ।

सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा बाढी र पहिरो आउँदा धेरै परिवार विस्थापित भएका छन्। जोखिमको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेर उद्धार अभियान सञ्चालन गर्यो। प्रहरीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धार गर्नुका साथै प्रभावित परिवारका सरसामान सुरक्षित स्थानमा सारिदिएको जनाइएको छ।

भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। सडक बन्द हुँदा लामो र छोटो दूरीका सबै प्रकारका सवारीसाधन ठप्प भएका छन्।

बडिमालिका नगरपालिका–९ स्थित सेलागाड क्षेत्रमा घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा र १३ घरधुरी सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उच्च जोखिममा परेका तीन घरधुरीका घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्। ती तीन घरधुरीमा २२ जना र अन्य १३ घरधुरीमा ८३ जना परिवारका सदस्य रहेका छन्।

पहिरोका कारण राप्का क्षेत्रमा रहेको टोट्के सिँचाइ नहरको २०० एमएम क्षमताको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको छ। बाढी र पहिरोले धेरै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको स्थानीय प्रशासनले जनाएको छ। जिल्लामा वर्षा जारी रहेकाले नदी तटीय र पहिरोजोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

डेढ सयभन्दा बढी बस्ती जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन्। बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका अधिकांश बस्ती जोखिमको सूचीमा परेका छन्। जिल्लाका १३५ भन्दा बढी गाउँबस्ती वर्षेनी यस्तै विपद्को सामना गर्दै आएका छन् र वर्षायाममा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने अवस्था छ।

उच्च जोखिमका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता वर्षौंदेखि औंल्याइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गत वर्ष बाढी–पहिरोबाट प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न करिब ६ करोड रुपैयाँ स्थानीय तहको खातामा पठाइएको थियो। बाजुराको अधिकांश भूगोल भिरालो र पहिरोप्रवण भएकाले वर्षेनी प्राकृतिक विपद् दोहोरिने गरेको छ। एकीकृत बस्ती विकास र सुरक्षित स्थानमा स्थानान्तरणको काम अघि नबढ्दा जोखिम झन् बढ्दै गएको सरोकारवालाहरू बताउँछन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विपद्सम्बन्धी पूर्वसूचना, जनचेतना र व्यवस्थित प्रतिकार्य योजनामार्फत जोखिम न्यूनीकरण गर्न सकिने बताए। सबै जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गर्न सहज नभए पनि वर्षायाममा पूर्वसचेतना अपनाउने, आधिकारिक सञ्चार माध्यमबाट सूचना लिने र सतर्क रहने नै जनधनको क्षति कम गर्ने प्रमुख उपाय भएको उनले बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.