काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
हाल कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा बादल लागेको छ भने तराई भूभाग मुख्यतया सफा छ। कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा पर्न सक्छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्छ। पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा राति भारी वर्षा पर्न सक्ने मौसम पूर्वानुमान छ।
