राजनिती

नयाँ पुस्तालाई सही संस्कार दिनुपर्छ : माधवकुमार नेपाल

By अर्जुन भट्टराई •

नयाँ पुस्तालाई सही संस्कार दिनुपर्छ : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनु आजको आवश्यकता भएको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’लाई नयाँ पुस्तालाई दिइएको संस्कार र संस्कृतिको उदाहरणका रूपमा उल्लेख गरे। उनले भने, ‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन। यस्तो आन्दोलनको नेतृत्व गर्नेहरूले कहिल्यै पनि राज्यको सम्पत्ति ध्वस्त पार्ने वा गौरवशाली व्यक्तित्वहरूको अपमान हुने अवस्थाको कल्पना गरेका थिएनन्।’

माधवकुमार नेपालले पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्ने जोड दिए। उनले भने, ‘त्यस्ता व्यक्तित्वहरूलाई कदर गर्नुपर्ने हो। विश्वसामु शिर ठाडो पारेर उभिने दिशामा अघि बढ्नुपर्ने हो। तर के देख्नुपर्यो, के भोग्नुपर्यो भन्ने पनि लाग्दछ।’

नयाँ पुस्ताका गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए। उनका अनुसार भ्रष्टाचार रोक्ने, दोषीलाई दण्डित गर्ने, सुशासन दिने, गरिबी र बेरोजगारी हटाउने जस्ता विषयमा ठोस योजनासहित अघि बढ्नुपर्छ। ‘नयाँ पुस्ताको गुनासोलाई अमूर्त रूपमा टारेर हुँदैन,’ उनले स्पष्ट पारे।

उनले सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रवृत्तिलाई पनि अनुचित बताए। ‘कति काम भयो, कति भएन भन्ने वस्तुगत मूल्यांकन हुनुपर्छ। अमूर्त रूपमा सबैलाई उस्तै भन्नुको कुनै अर्थ छैन,’ उनले भने।

कार्यक्रममा माधवकुमार नेपालले देशका सामाजिक अभियन्ता, राजनीतिककर्मी र प्रत्येक देशभक्त नागरिकले देशको वर्तमान अवस्थाप्रति जिम्मेवार र गम्भीर बन्नुपर्ने आह्वान पनि गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.