सिराहा । लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा बुधबार साँझ प्रहरीले एक पिकअप गाडीमा नास्पातीका क्रेटभित्र लुकाइएको ठूलो परिमाणमा लागू औषध बरामद गर्दै तीनजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले यो कारबाही गरेको हो।
श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा गाडीको पछाडिको भागमा राखिएका नास्पातीका क्रेटहरूभित्र सेतो प्लाष्टिकका बोरामा लागू औषध लुकाइएको फेला पर्यो।
बरामद सामग्रीमा गाँजा जस्तो देखिने पदार्थ ३१ बोरा — बोरा र प्लाष्टिकसहित ६५३ केजी र बाहेक ६५२ केजी — नास्पातीका ४६ क्रेट (९२० केजी) र सो पिकअप गाडी समावेश छन्।
नियन्त्रणमा परेकाहरूमा लहान–३ नयाँ बस्ती टोल निवासी ३८ वर्षीया श्याम कुमारी साह, भारतको बिहार राज्यको मधुबनी जिल्लाका मूल घर भई हाल लहान–३ मा बसोबास गर्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साह रहेका छन्।
प्रहरीले तीनैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ।
