समाचार

६४ वर्षकी जनारसी देवीलाई अन्ततः मिल्यो नेपाली नागरिकता

By अर्जुन भट्टराई •

६४ वर्षकी जनारसी देवीलाई अन्ततः मिल्यो नेपाली नागरिकता

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकता पाएकी छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट उनले नागरिकताको प्रमाणपत्र हात पारिन्। यो सम्भव भयो — गोडैता नगरपालिका–१२ का वडाध्यक्ष केशव कुमारको करिब ६ महिनासम्मको निरन्तर प्रयासका कारण।

नागरिकता नहुँदा जनारसी देवीले वर्षौंदेखि दैनिक प्रशासनिक कामकाजमा अनेक कठिनाइ भोग्दै आएकी थिइन्। कानुनी पहिचान नभएका कारण राज्यका विभिन्न सेवा र सुविधामा उनको पहुँच थिएन। उनका श्रीमानको अघि नै निधन भइसकेको छ र उनका दुई छोरा र एक छोरी छन्।

वडाध्यक्ष केशव कुमारका अनुसार जनारसीका लागि आवश्यक कागजात संकलन गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र कानुनी प्रक्रिया पूरा गराउन झण्डै छ महिना लगातार पहल गरिएको थियो। उनले आफ्नो कार्यकालमा वडाभित्र कोही पनि नागरिकताविहीन नरहून् भन्ने लक्ष्य पूरा भएको दाबी गरेका छन्।

वडाध्यक्ष कुमारले सरकारी प्रक्रिया र कानुनी प्रावधानबारे जानकारी नभएका वा प्रक्रिया पूरा गर्न असमर्थ वडावासीलाई आफूले प्रत्यक्ष सहजीकरण गर्दै सम्बन्धित निकायसम्म पुर्याई नागरिकता दिलाउँदै आएको बताए।

उल्लेखनीय छ, सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत धनकौल, रामनगर र बलरा लगायतका स्थानीय तहमा अझै पनि उमेर ढल्किसकेका केही नागरिक नागरिकताविहीन रहेको पाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.