काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट केवल सीप प्रशिक्षणको अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालयमा सिलबन्दी गरिएको छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले यो कारबाही गरेको हो।
वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएका सर्तहरू विपरीत सीप प्रमाणीकरणका प्रमाणपत्र उपलब्ध गराउने गरेको भन्ने गुनासोका आधारमा यो कारबाही अघि बढाइएको हो। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन गरेको पनि देखिएको छ।
सीप परीक्षण र प्रमाणीकरणको अधिकार सीटीईभीटीलाई मात्र हुन्छ। तर उक्त संस्थाले सो अधिकार अनधिकृत रूपमा प्रयोग गर्दै आएको पाइएको छ। यसका साथै, अनुमति लिँदा तोकिएका विषयहरूभन्दा फरक विषयमा पनि तालिम दिने गरेको अनुगमनका क्रममा उजागर भएको छ।
अनुगमन टोलीले संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। ती कागजातको अध्ययन र अनुसन्धान सकिएपछि संस्थामाथि थप कानुनी कारबाही अघि बढाइने जानकारी दिइएको छ।
