समाचार

थाइल्याण्डमा आईजीपी कार्कीको सम्मानमा ‘मिट एण्ड ग्रीट’, नेपाल–थाइल्याण्ड सुरक्षा सहकार्य थप मजबुत बनाउन जोड

By अर्जुन भट्टराई •

थाइल्याण्डमा आईजीपी कार्कीको सम्मानमा ‘मिट एण्ड ग्रीट’, नेपाल–थाइल्याण्ड सुरक्षा सहकार्य थप मजबुत बनाउन जोड

बैंकक। संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा बैंककमा एक विशेष ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (एल्इ) को संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा थाइल्याण्डस्थित नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभयो भने वरिष्ठ गायक आनन्द कार्कीको पनि विशेष उपस्थिति रह्यो। एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी र बुद्धिजीवीहरू कार्यक्रममा सहभागी भए।

कार्यक्रमको स्वागत मन्तव्य पियानोका संयोजक कुमार कार्कीले राखे। एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष तथा एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भबिन्द्र बस्नेतले पियानो र एनआरएनए थाइल्याण्डको स्थापना, उद्देश्य र प्रवासी नेपाली समुदायमा पुर्याइएको योगदानबारे जानकारी दिए।

आईजीपी दानबहादुर कार्कीले आफ्नो मन्तव्यमा संगठित अपराध नियन्त्रण, सीमापार अपराध न्यूनीकरण, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य र नेपाल प्रहरीले अपनाइरहेको आधुनिक सुरक्षा रणनीतिबारे विस्तृत जानकारी दिए। उनले नेपाल र थाइल्याण्डबीचको सुरक्षा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष सञ्जय ढकाल र थाइ–नेपाली संघका वरिष्ठ उपाध्यक्ष विनोद लामिछानेले अतिथि तथा सहभागीहरूलाई स्वागत गरे। एनआरएनए थाइल्याण्डका अर्का पूर्वअध्यक्ष खगेन्द्र ढकालले थाइल्याण्डलाई ट्रान्जिट बनाएर हुने मानव तस्करी र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच थप समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.