काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका–३ बस्ने, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय अमृत मगर छन्।
हरि बहादुरले कम्बोडिया पठाइदिने झाँसो दिँदै दुई जना पीडितबाट ५ लाख रुपैयाँ असुलेका थिए भने अमृतले न्यूजिल्याण्ड पठाइदिने भनी एक जना पीडितबाट १० लाख ७० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि दुवैजना पीडितसँग सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानिलकण्ठ नगरपालिका–७ र अमृतलाई ललितपुर महानगरपालिका–५ बाट पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि दुवैजनालाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।
