समाचार

शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

By अर्जुन भट्टराई •

शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्दैछ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने यस छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार यो छलफल शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रका समस्या तथा चुनौती, गुणस्तरीय सेवाको प्रवर्द्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाजस्ता विषयमा विस्तृत छलफल हुनेछ।

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), एक्यान, नेवा र नेक्सालगायत संघ-संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलमा शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी व्यवस्थाका विषयमा पनि छलफल हुनेछ। साथै सरोकारवालाका सुझाव पनि संकलन गरिनेछ।

मन्त्रालयका अनुसार शिक्षामन्त्री पोखरेल पछिल्लो समय शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आएका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.