समाचार

७ बुँदे माग राख्दै डा. गोविन्द केसी आजदेखि धनगढीमा सत्याग्रह बस्दै

By अर्जुन भट्टराई •

७ बुँदे माग राख्दै डा. गोविन्द केसी आजदेखि धनगढीमा सत्याग्रह बस्दै

धनगढी। चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीले आज बिहीबारदेखि धनगढीमा फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य क्षेत्र सुधारका ७ बुँदे माग राख्दै धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह थाल्ने बताएका छन्।

डा. केसीका अनुसार सरकारले स्वास्थ्य क्षेत्रलाई निजीकरण गर्ने प्रयास गरिरहेको छ र त्यसलाई रोक्नकै लागि आफू सत्याग्रहमा बस्न लागेका हुन्। उनले सरकारले निजी मेडिकल संस्थामा लगानी गरेका व्यक्तिलाई कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त गरेर यो कुराको पुष्टि गरेको आरोप लगाएका छन्।

सरकारले असार ३१ गते उक्त विश्वविद्यालयमा उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्दलाई नियुक्ति गरेको थियो। डा. केसीले यी दुवै नियुक्ति खारेज गरी निजी स्वास्थ्य संस्थासँग स्वार्थ नबाझिने अनुभवी व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने माग गरेका छन्।

‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ऐन बनिसकेको छ, त्यसमा मेरो विरोध छैन,’ डा. केसीले भने, ‘तर हालको उपकुलपति र रजिष्ट्रारको नियुक्तिले गेटालाई अन्योलमा राखेर यहाँका नागरिकलाई दुःख दिइरहेको छ। निजी स्वास्थ्य संस्थामा लगानी गर्ने व्यक्तिले गेटालाई गति दिन सक्दैनन्, त्यसैले अहिलेको नियुक्ति खारेज हुनुपर्छ।’

डा. केसीका अन्य मागहरूमा चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नु पर्ने माग पनि समावेश छ। चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी प्रावधान कार्यान्वयन गर्नु उनको तेस्रो माग हो।

यसका साथै विगतमा सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नु, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्नु र भदौ २३ तथा २४ गतेको जेनजी आन्दोलनमा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु लगायतका माग पनि उनले अघि सारेका छन्।

उल्लेखनीय छ कि डा. केसीले पहिले दार्चुलाको ब्यास क्षेत्रबाट सत्याग्रह सुरु गर्ने तयारी गरेका थिए। तर भारतीय सुरक्षा निकायले केवल ५ दिनका लागि मात्र ब्यास क्षेत्र जाने अनुमति दिएकाले उक्त योजना सम्भव भएन। नेपाली भूमिबाट ब्यास जाने अवस्था नरहेको र भारतीय भूमिबाट जान मागेअनुसार अनुमति नपाएपछि उनी धनगढी फर्केका हुन्।

‘मैले सत्याग्रह बस्ने कुरा भारतीय सुरक्षा निकायले पनि थाहा पाएका थिए होलान्,’ डा. केसीले भने, ‘त्यसैले भारतीय बाटो प्रयोग गर्न अनुमति दिएनन्। दार्चुलामा केही दिन नागरिकको स्वास्थ्य परीक्षण गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि धनगढी फर्कन बाध्य भएँ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.