काठमाडौं । कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनाको अवधिमा विकास निर्माणसँग सम्बन्धित जम्मा ४४ वातावरणीय प्रक्रियाहरू सम्पन्न गरेको छ।
मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ आयोजनाको क्षेत्र निर्धारण (एसडी/टिओआर) प्रतिवेदन स्वीकृत भएका छन्।
स्वीकृत ईआईए प्रतिवेदनमा जलविद्युत् आयोजनाको बाहुल्यता देखिएको छ। स्वीकृत भएका १६ ईआईएमध्ये ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको माथिल्लो अप्सुखोला, २२ मेगावाटको रोल्वालिङ खोला, ३०.४० मेगावाटको माथिल्लो दूधखोला र ३४.३९ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत् आयोजना पर्छन्।
सडक पूर्वाधारमा बुटवल–पोखरा सडक खण्ड, पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति र कोहलपुर–सुर्खेत–बबई सडकको ईआईए स्वीकृत भएको छ। यसका साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन, काठमाडौंको डिएलएफ ग्रिन अपार्टमेन्ट र धनुषाको विनियतरा क्यान्सर अस्पतालको ईआईए पनि स्वीकृत भएको छ।
क्षेत्र निर्धारण स्वीकृत भएका ११ आयोजनामध्ये ३२५ मेगावाटको माथिल्लो भेरी अर्धजलाशययुक्त जलविद्युत् र १२४.३२ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना प्रमुख छन्। यसैगरी पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–चोचा खण्ड, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल र बेसीशहर–चामे सडकको क्षेत्र निर्धारण प्रतिवेदन पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ।
यस अवधिमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत एमसीए–नेपालले निर्माण गरिरहेको लप्सीफेदी–रातामाटे–न्यू हेटौंडा–न्यू दमौली–न्यू बुटवल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनहरूको परिमार्जित वातावरणीय व्यवस्थापन योजना (REMP) पनि स्वीकृत भएको छ। साथै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना (१३५ मेगावाट) को पूरक ईआईए पनि स्वीकृत भएको छ।
वातावरणीय नियम पालना नगरेको आरोपमा मन्त्रालयले बाँकेको भेरी अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई जरिवाना गरेको छ। यसका अतिरिक्त मन्त्रालयले २ आयोजनाको कार्यावधि थप गरेको र ५ आयोजनालाई पूरक ईआईए अध्ययनका लागि सहमति दिएको छ।
