काठमाडौं । विदेशमा बस्ने गैरआवासीय नेपालीहरू वर्षौंदेखि आफ्ना अधिकारका लागि लड्दै आएका छन्। अब उनीहरू थप कुर्न तयार छैनन्। दुई तिहाइ नजिकको बहुमत भएको वर्तमान सरकारप्रति भने उनीहरू बढी आशावादी छन् र वर्षौंदेखि अड्किएका आफ्ना मुद्दाहरू यसपटक पूरा हुने विश्वासमा छन्।\n\nगैरआवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई यतिखेर मागका फाइलहरू बोकेर काठमाडौंमा व्यस्त छिन्। मन्त्रीहरूलाई विषयवस्तु बुझाउन र आवश्यक निर्णय गराउन उनको टोली सिंहदरबार धाइरहेको छ।\n\nरोजिनाले भनिन्, ‘हाम्रा धेरै विषयहरू अझै सरकारी टेबुलमै घुमिरहेका छन्। नागरिकता नै मूल मुद्दा हो। गैरआवासीय नेपाली नागरिकतालाई व्यवहारमा लागू गर्न आवश्यक ऐन र कानुन तत्काल बनाउन हामी सरकारसँग निरन्तर पहल गरिरहेका छौं।’\n\nउनले थपिन्, ‘२०७२ सालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। तर त्यसलाई कार्यान्वयन गर्ने ऐन नबनेकाले विदेशमा रहेका नेपालीले अहिलेसम्म पनि त्यसको प्रत्यक्ष लाभ लिन पाएका छैनन्।’\n\nतीन चरणमा माग\n\nएनआरएनएले सरकारसमक्ष तीन चरणमा माग राखेको छ। पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयबाटै तत्काल कार्यान्वयन गर्न सकिने व्यवस्थाहरू लागू गर्न, दोस्रो चरणमा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक चाँडो संसद्बाट पारित गर्न, र तेस्रो चरणमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणालाई संवैधानिक रूपमा सुनिश्चित गर्न माग गरिएको छ।\n\nपहिलो चरणमा राष्ट्रिय परिचयपत्र (एनआईडी) नभए पनि बैंक खाता सञ्चालन गर्न पाउने, सम्पत्ति खरिद–बिक्री गर्न पाउने, अंश तथा अपुताली नामसारी, डिम्याट खाता सञ्चालन र सवारी साधन खरिद गर्न पाउने जस्ता विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराउन प्रस्ताव पेस गरिसकिएको रोजिनाले बताइन्।\n\nविधेयकबारे उनले जानकारी दिइन् कि परराष्ट्र मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदामाथि एनआरएनएसँग विस्तृत छलफल भएको थियो। त्यसपछि संघले पाँच दिनभित्र आफ्नो संशोधनसहितको प्रस्ताव सरकारलाई बुझाएको र अहिले सो कानुन मन्त्रालयलगायत सम्बन्धित निकायमा छलफलको क्रममा रहेको उनले बताइन्।\n\nउनले भनिन्, ‘पटकपटक पहल गर्दा पनि ढिला हुँदा निराश बनाएको छ। सय दिनको कार्यक्रम आयो, १२ बुँदे निर्णय आयो, तर हाम्रो विषय परेन। तर सम्बन्धित निकायबाट सकारात्मक आश्वासन पाइरहेकाले अझै आशावादी छौं।’\n\nनागरिकतामा जटिलता\n\nरोजिनाका अनुसार एनआरएनए स्थापनाकालदेखि नै वंशजको नागरिकताको निरन्तरता संस्थाको मूल एजेन्डा हो। ‘नेपालमा जन्मिएको वा वंशजको नेपाली कहिल्यै गैरनेपाली हुँदैन,’ उनले भनिन्।\n\nतथापि सबै देशमा दोहोरो नागरिकताको व्यवस्था एकै खालको नभएकाले एउटै मोडलले सबै समस्या समाधान नहुने उनले स्पष्ट पारिन्। अमेरिका, बेलायत र क्यानडामा दोहोरो नागरिकता मान्य भए पनि जर्मनीलगायत केही देशमा स्थानीय नागरिकता लिन नेपाली नागरिकता त्याग्नुपर्ने बाध्यता रहेको उनले बताइन्। त्यस्ता व्यक्तिका लागि गैरआवासीय नेपाली नागरिकता वा एनआरएन कार्डको व्यवस्था हुनुपर्ने उनको माग छ।\n\nउनले थपिन्, ‘आठ पुस्ताअघि विदेश गएका नेपालीका सन्तानले पनि आफू नेपाली भएको गर्व गर्छन्। उनीहरू नेपाली भाषा, संस्कृति र पशुपतिनाथसँग भावनात्मक रूपमा जोडिएका छन्। त्यस्ता व्यक्तिलाई पनि कुनै न कुनै प्रकारको नेपाली पहिचान दिने व्यवस्था हुनुपर्छ।’\n\nलगानीमा झन्झट\n\nस्वयं व्यवसायी रहेकी रोजिनाले नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई अझै धेरै प्रशासनिक झन्झट भोग्नुपरेको बताइन्। विदेशबाट पूँजी नेपाल ल्याउन, नेपालमा लगानी गर्न र लगानीको प्रतिफल पुनः विदेश लैजान अझै जटिलता रहेको उनको भनाइ छ।\n\nउनले भनिन्, ‘पैसा ल्याउन गाह्रो, लगानी गर्न गाह्रो, प्रतिफल बाहिर लैजान पनि समस्या। त्यसैले हामीले सरकारसँग वान डोर सिस्टम लागू गर्न आग्रह गरेका छौं।’\n\nएकताको यात्रा\n\nएनआरएनएभित्र वर्षौंदेखि चलेको नेतृत्व विवाद अन्त्य भई संस्था अहिले एकीकृत रूपमा अघि बढिरहेको रोजिनाले दाबी गरिन्। उनका अनुसार सुरुमा एउटा सानो कोठाबाट सुरु भएको संस्था अहिले विश्वका ८५ भन्दा बढी देशमा फैलिसकेको छ। संस्था विस्तार भएसँगै नेतृत्व गर्ने आकांक्षा पनि बढ्यो र एक समय एकैसाथ चार–चार जना अध्यक्षको दाबी हुने अवस्था सिर्जना भएको उनले स्वीकार गरिन्।\n\nउनले भनिन्, ‘अन्ततः सर्वोच्च अदालतको निर्देशनपछि सबै पक्ष एक ठाउँमा बसेर समाधान खोज्ने वातावरण बन्यो।’ त्यसपछि स्टेयरिङ कमिटी गठन गरी महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका समूहलाई एकीकृत गरेर नयाँ निर्वाचन सम्पन्न गरिएको र अहिले डा. हेमराज शर्माको नेतृत्वमा संस्था अघि बढिरहेको उनले बताइन्।\n\nहाल संस्थाभित्र वेलफेयर, श्रम, महिला, खेलकुद, युवा, कानुनी सहायता र लगानीलगायत छुट्टाछुट्टै विभाग सक्रिय छन्। युरोप क्षेत्रीय सम्मेलन आयरल्यान्डमा र एसिया क्षेत्रीय सम्मेलन चीनमा हुने तयारी भइरहेको उनले जानकारी दिइन्।\n\nदोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियान\n\nविदेशमा जन्मिएका र हुर्किएका दोस्रो पुस्ताका नेपाली मूलका युवालाई नेपालको भाषा, संस्कृति र पहिचानसँग जोड्नु अहिले एनआरएनएको प्रमुख प्राथमिकता रहेको रोजिनाले बताइन्।\n\nउनले भनिन्, ‘पहिलो पुस्ता आफैं नेपालसँग जोडिएको हुन्छ। तर दोस्रो पुस्तालाई भाषा, संस्कृति र इतिहाससँग परिचित गराउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो।’ यसका लागि छुट्टै युवा समिति गठन गरिएको र जापान, बेलायत, स्कटल्यान्डलगायत विभिन्न देशमा नियमित नेपाली मेला आयोजना गरिने गरेको उनले बताइन्। ती कार्यक्रममा राई, नेवार, तामाङ, गुरुङलगायत विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति समेटिने गरेको छ।\n\nवैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोग\n\nएनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपालीको हितका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँग सहकार्य गरी अभिमुखीकरण, कानुनी परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको रोजिनाले जानकारी दिइन्।\n\nउनले भनिन्, ‘विदेशमा पुगेपछि धेरै नेपालीले अपेक्षाभन्दा फरक अवस्था भोग्नुपर्छ। एक्लोपन, कामको दबाब र पारिवारिक दूरीका कारण धेरै मानसिक तनावमा पर्छन्। त्यसैले हामीले निय
गैरआवासीय नेपाली दशकौंदेखि अधिकारका लागि लड्दै, अब थप प्रतीक्षा गर्न सक्दैनन् : रोजिना प्रधान राई
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
