काठमाडौं । पाल्पा जिल्लामा सञ्चालित ‘शाक्यमुनि कमोडिटिज’ संस्थाले ४० जनाभन्दा बढी स्थानीयबाट १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पीडितहरूले आरोप लगाएका छन्। बुधबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले यो गुनासो राख्दै पाल्पा जिल्ला अदालतको फैसला तत्काल कार्यान्वयन गर्न राज्यसँग माग गरेका छन्।
‘नागरिक युवा दस्ता नेपाल’का अध्यक्ष सम्भू थापाले संस्थाले स्थानीयहरूलाई विभिन्न सेवासुविधा दिने भनी झुक्याएर करोडौं रकम असुलेको आरोप लगाए। उनका अनुसार करिब एक दशक अघि संस्थाले स्थानीय तहमै सुनदेखि नुनसम्मको सामूहिक कारोबार गरेर जनतालाई आत्मनिर्भर बनाउने सपना देखाउँदै ठगी गरेको थियो, र यो कुरा अदालतले पनि पुष्टि गरिसकेको छ।
थापाका अनुसार करिब ४ वर्षसम्म संस्थाले आफ्नो उद्देश्य पूरा नगरेपछि स्थानीयले लगानी फिर्ता माग्न थाले, तब मात्र आफूहरू ठगिएको थाहा भयो र उनीहरू कानुनी उपचारको बाटोमा लागे। संस्थाका सञ्चालक सचिन शाक्य, रकम उठाउने कल्पना घिमिरे र ज्ञानप्रसाद गैरेको मुख्य योजनामा यो ठगी भएको थापाको दाबी छ।
पीडितहरूले २०८२ सालमा पाल्पा जिल्ला अदालतमा मुद्दा जितेका थिए, तर अहिलेसम्म राहत नपाएपछि उनीहरूले नागरिक युवा दस्तामा गुहार मागेको थापाले जानकारी दिए।
दस्ताका सुरक्षा विभाग प्रमुख नविन रेग्मीले पीडितको पक्षमा लगातार ३ वर्षदेखि काम गर्दै आएको र सञ्चालकहरूलाई समन्वयमा ल्याउने प्रयास पनि गरेको बताए। ‘हामीले पटकपटक संस्थाका सञ्चालकहरूलाई रकम फिर्ता गर्न आग्रह गर्यौं, तर नमानेपछि मिडियामा जान बाध्य भयौं,’ उनले भने।
रेग्मीले अब पनि सञ्चालकहरूले न्याय नदिए अदालतको फैसलाबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी दिँदै सरकारी निकायहरूलाई फैसला कार्यान्वयन गर्न आह्वान गरे।
