समाचार

राधिकाको जीवन बचाउन मानवीय पहल: केएमसीमा निःशुल्क उपचार सुरु

By अर्जुन भट्टराई •

राधिकाको जीवन बचाउन मानवीय पहल: केएमसीमा निःशुल्क उपचार सुरु

काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालकी श्रीमती राधिकाको टाउकोमा करिब ६ महिनाअघि सानो गाँठो देखिएको थियो। समयसँगै त्यो गाँठो ठूलो ट्युमरमा परिणत भयो — यति ठूलो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो। चिकित्सकहरूले तत्काल उपचार गर्नुपर्ने बताए, तर सुरेशसँग खर्च जुटाउने सामर्थ्य थिएन।

हार नमानेका सुरेशले विभिन्न माध्यमबाट सहयोग जोहो गर्दै पटक–पटक एमआरआई गराए। रोगको अवस्था पत्ता लागे पनि शल्यक्रियाका लागि आवश्यक रकम नहुँदा राधिकालाई अस्पताल भर्ना गर्न सकिएको थिएन।

यही अवस्थामा जेन–जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीले सामाजिक सञ्जालमा सुरेशले गरेको सहयोगको अपिल देखिन्। उनले काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्। जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई निःशुल्क उपचार र कुरुवाको बसोबास तथा खानपानको व्यवस्था मिलाउने मानवीय कार्यबारे जानकारी भएकाले कार्कीले शर्मासँग सहयोगको आग्रह गरेकी थिइन्।

राधिकाको अवस्था देखाउने भिडियो हेरेपछि सुनील शर्माले तत्काल निःशुल्क उपचार दिने निर्णय गरे। कुनै जटिल प्रक्रिया वा लामो प्रतीक्षाविना नै उनले राधिकाको सम्पूर्ण उपचारको जिम्मेवारी लिने प्रतिबद्धता जनाए।

त्यसपछि केएमसीको एम्बुलेन्स राधिकालाई लिन उनीहरूको पायक पर्ने स्थानमा पुग्यो। सुरेश, राधिका र उनीहरूको सानो सन्तान उपचारको आशा बोकेर केएमसी पुगे। खबर पुगेको केही घण्टामै राधिकालाई केएमसी दुवाकोट युनिटको आकस्मिक कक्षमा भर्ना गरियो। अस्पताल पुग्नुअघि नै चिकित्सकहरूको टोली उपचारका लागि तयार अवस्थामा रहेको बताइएको छ।

श्रीमतीको उपचार सुनिश्चित भएपछि भावुक बनेका सुरेशले अस्पतालमा भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ।’

सुरेशको परिवारले राधिकालाई अस्पताल पुर्‍याउन पहल गर्ने किशोरी कार्की र निःशुल्क उपचारको व्यवस्था मिलाउने सुनील शर्मा दुवैप्रति हार्दिक आभार व्यक्त गरेको छ। किशोरी कार्कीले पनि आफ्नो आग्रह सहर्ष स्वीकार गरेकोमा शर्माप्रति कृतज्ञता जनाएकी छन्।

हाल राधिकाको उपचार काठमाडौं मेडिकल कलेजमा जारी छ। परिवारजन र शुभेच्छुकहरूले उनी पूर्ण स्वास्थ्यलाभ गरी आफ्ना सन्तानसँग सामान्य जीवनमा फर्किने अपेक्षा राखेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.