राजनिती

व्यक्ति जोडेर मात्र बनाइएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का

By अर्जुन भट्टराई •

व्यक्ति जोडेर मात्र बनाइएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याएका छन् । साथै, वीपी कोइरालाका विचार — राष्ट्रियता, प्रजातन्त्र र समाजवाद — लाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन् ।

४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले नेपाली कांग्रेसका विचार र आदर्शका प्रणेतालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले आफू कार्यवाहक सभापति रहँदादेखि निवर्तमान हुँदासम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा लड्दाको र निर्वाचन आयोगमा पार्टी नेताहरूसहित उपस्थित हुँदाका सन्दर्भलगायत धेरै विषय देश-विदेशका पार्टी समर्थक र नेपाली नागरिकलाई विस्तृत रूपमा जानकारी गराउन बाँकी रहेको बताए ।

खड्काले वीपी कोइरालाले जीवनभर संवादमार्फत समाधान खोज्ने नीति अपनाएको सम्झना गराउँदै पार्टीबीच, राजनीतिक दलहरूबीच र नेपाल राष्ट्रसँग जोडिएका राष्ट्रवादी शक्तिबीच एकताको पक्षमा उहाँ सदैव उभिनुभएको बताए । वीपीले जीवनको अन्तिम क्षणसम्म पार्टी पंक्ति, युवापुस्ता र देशलाई यही मार्गमा अघि बढाउन प्रेरित गर्नुभएको उनले उल्लेख गरे ।

उनले भने, ‘पार्टीबीच, दलहरूबीच र नेपाल राष्ट्रसँग जोडिएका सबै राष्ट्रवादी शक्तिबीच एकता आवश्यक छ । वीपीले जीवनभर संवाद र सहमतिलाई नै समाधानको मूल सूत्र मान्नुभयो । उहाँको क्षमता, योग्यता, अपार बुद्धि र दूरदर्शिताकै कारण देशको राजनीति जहिले पनि वीपीकै वरिपरि घुम्यो ।’

खड्काले नेपाली कांग्रेसले वीपी कोइरालाको विचार र नीति छोड्यो भन्ने निष्कर्ष कुनै एउटा मात्र कालखण्ड वा रणनीतिका आधारमा निकाल्नु वीपीप्रति अन्याय हुने धारणा राखे ।

उनले अहिले नेपालको राष्ट्रियता २०३३ सालको तुलनामा झनै ठूलो संकटमा रहेको दाबी गर्दै देशको अस्तित्व नै चुनौतीपूर्ण अवस्थामा पुगेको बताए । उनले भने, ‘२०३३ सालको भन्दा अहिले नेपालको राष्ट्रियता सयौं गुणा बढी संकटमा छ । नेपाल देश रहने कि नरहने भन्ने दोसाँधमा पुगेको छ ।’

यस्तो परिस्थितिमा केवल व्यक्तिहरूलाई जोडेर बनाइएको एकताले वीपीले देखाउनुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र उहाँले स्थापित गर्नुभएका उपलब्धिको उचाइ छुन नसक्ने खड्काले स्पष्ट पारे । संवाद, सहमति र एकताको सूत्रमार्फत नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उनले जोड दिए । त्यसरी कायम हुने बलियो एकताले देशभर नयाँ उत्साह र राजनीतिक वातावरण निर्माण गर्ने तथा अन्य राजनीतिक दलहरूलाई समेत एकताबद्ध गर्ने हैसियत नेपाली कांग्रेससँग मात्र रहेको दाबी उनले गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रकाशशरण महत र एनपी साउँदलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.