काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले बुधबार बबरमहलस्थित नेपाल औषधि लिमिटेडको अनुगमन गरिन् । यस क्रममा उनले संस्थाको हालको अवस्था, उत्पादन क्षमता र देखिएका समस्याबारे विस्तृत जानकारी लिइन् ।
मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी थियो ।
लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्रीलाई विभिन्न उत्पादन कक्षको अवलोकन गराए । उनले जानकारी दिए कि हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ । तर देशभर औषधि पुर्याउन आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो पनि उनले राखे । उनका अनुसार जेनजी आन्दोलनका क्रममा ढुवानीमा प्रयोग हुने सवारीसाधन जलेपछि अहिलेसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरणमा कठिनाइ भइरहेको छ ।
यो गुनासो सुनेलगत्तै मन्त्री यादवले सचिव दुवाडीलाई तत्काल सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिइन् ।
सोही अवसरमा महाप्रबन्धक पनेरुले एउटा उत्साहजनक खबर पनि सुनाए — वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको छ ।
यो सुनेर प्रसन्नता व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अब हरेक उद्योग तथा संस्थानले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफैं व्यवस्थापन गर्न सक्नुपर्छ । मन्त्रालयको ढोका धाएर बजेट माग्ने अवस्था अन्त्य हुनुपर्छ । यो हाम्रो आफ्नै सम्पत्ति हो । संस्थान नाफामा गए देशको अर्थतन्त्र पनि बलियो बन्छ । आवश्यक परे उत्पादन गरिएको औषधि न्यून नाफामा बिक्री गरौं, तर संस्थाको सम्पूर्ण खर्च आफ्नै आम्दानीबाट धान्ने वातावरण बनाऔं ।’
मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन् ।
