काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग हातेमालो गर्न आफूहरू तयार रहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासंघका प्रतिनिधिहरूसँग छलफल गरे। बैठकमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको महसुस भएको बताउँदै सरकारसँग जुनसुकै किसिमको सहकार्यका लागि आफूहरू तयार रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला सीपलाई पुस्तादेखि पुस्तामा हस्तान्तरण गर्ने विषयमा सरकार पूर्णतः प्रतिबद्ध रहेको बताए।
छलफलमा महासंघका पदाधिकारीहरूले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने माग राखेका थिए, जसमा प्रधानमन्त्री शाह सकारात्मक देखिए।
हालसम्म महासंघले मंसिर २८ मा आफ्नै पहलमा हस्तकला दिवस मनाउँदै आएकोमा अब यसलाई राष्ट्रिय स्तरमा मनाउनुपर्ने माग पनि पदाधिकारीहरूले राखे। प्रधानमन्त्री शाहले यस विषयमा तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिए।
हस्तकला सामग्री निर्यातमा अहिलेसम्म स्वघोषणाको व्यवस्था रहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीहरूको सुझावअनुसार काम गरिने प्रधानमन्त्री शाहले आश्वस्त पारे। साथै, हस्तकला सामग्री निर्यातमा पाउनुपर्ने पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिइने आश्वासन पनि प्रधानमन्त्री शाहले दिए।
उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसकेको तर त्यहाँ कम्पनी रजिस्ट्रारको कार्यालय रहेकोले सो भवन आफूहरूलाई फिर्ता गरिनुपर्ने माग पनि पदाधिकारीहरूले राखे, जसमा प्रधानमन्त्री शाहले सोहीअनुसार काम गर्ने आश्वासन दिए।
उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने र सातै प्रदेशमा हस्तकला सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाए। निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौता गर्ने विषयमा पनि उनी सकारात्मक रहे। परम्परागत सीप र कलालाई जगेर्ना गर्ने तथा हस्तकलाकर्मीलाई परिचयपत्र प्रदान गर्नेलगायत विभिन्न माग पनि पदाधिकारीहरूले राखे।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।
