काठमाडौं । विश्लेषक तथा उदारवादी चिन्तक डा. गोपीलाल न्यौपानेले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तन सडक आन्दोलनबाट नभई संविधान र संसदीय प्रक्रियाअनुसार मात्र हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय निकाय, नीति र मेयर/उपमेयर कस्तो हुनुपर्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. न्यौपानेले भने, ‘लोकतन्त्रमा सरकार सडकबाट फालिनु हुँदैन। हामीले विगतमा त्यस्तो गल्ती गर्यौं। सरकार संसदमा अल्पमतमा परेपछि वा प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै परिवर्तन हुनुपर्छ। सडक आन्दोलन, मुडभेड वा दबाबका आधारमा सरकार फाल्ने अभ्यास जारी रहे कुनै पनि सरकारले स्थायित्व पाउन सक्दैन।’
उनले छिमेकी देश भारतको उदाहरण दिँदै भने कि त्यहाँ लोकतान्त्रिक संस्थाहरू बलियो भएकाले सडक आन्दोलनले मात्र सरकार परिवर्तन हुन सम्भव छैन। उनले भने, ‘भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको संसदमा बहुमतको सरकार छ। संसद घेरेर वा सरकारलाई असफल बनाउने तयारीले त्यहाँ परिवर्तन हुने सम्भावना मैले देखेको छैन। बलियो प्रणालीमा कुनै एक समूहले जुलुस निकाल्दैमा परिवर्तन हुँदैन।’
तथापि उनले लोकतन्त्रमा जनताको आवाज राज्यले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिए। उनले भने, ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताको आवाज सुन्नु हो। राज्यले जनताको आवाज सुनेन भने विद्रोह गर्ने अधिकारलाई कसैले रोक्न सक्दैन। त्यसैले सरकारले जनताका भावना, गुनासा र मागलाई समयमै सम्बोधन गर्नुपर्छ।’
कार्यक्रममा डा. न्यौपानेले स्थानीय सरकारको भूमिकाबारे पनि कडा प्रश्न उठाए। उनले सडकमा व्यवसाय गरेर जीविकोपार्जन गर्ने नागरिकलाई नगर प्रहरीले दुर्व्यवहार गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै भने, ‘कसैले ठेलागाडामा, कसैले साइकलमा, कसैले पोकामा सामान बेचिरहेको हुन्छ। उसले कमाएको दुई–चार सय रुपैयाँले परिवार पाल्छ, छोराछोरी पढाउँछ, बाआमाको औषधि किन्छ। तर नगर प्रहरीले साइकल लडाइदिने, फलफूल थत्ताचुल्ल पारिदिने दृश्य देख्दा म छक्क पर्छु।’
उनले भने कि नागरिकलाई बाँच्ने र श्रम गरेर खाने अधिकार जन्मसिद्ध हो, त्यो मेयर, उपमेयर वा नगरपालिकाले दिएको होइन। ‘त्यो प्रकृतिले दिएको अधिकार हो। त्यसैले स्थानीय सरकारले नागरिकलाई सम्मान गर्नुपर्छ, हेप्ने होइन,’ उनले भने।
डा. न्यौपानेले स्थानीय सरकारको मूल्याङ्कन गर्ने आधार नागरिकप्रतिको व्यवहार नै हुनुपर्ने धारणा पनि राखे।
