धर्मेन्द्र झा
आज महामानव बीपी कोइरालाको ४४औं स्मृति दिवस हो। नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला केवल एक पार्टीका नेता मात्र थिएनन्, उनी समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए र रहनेछन्। उनी यथास्थितिवादी नेता थिएनन्, बरु देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई परिमार्जित गर्न सक्ने युगान्तकारी व्यक्तित्व थिए।
सोसलिस्ट इन्टरनेशनललाई समेत वैचारिक नेतृत्व प्रदान गर्न सक्ने हैसियत राख्ने बीपी समकालीन विश्व राजनीतिमा यति प्रभावशाली थिए कि कुनै विषयमा उनको विचार के हुनेछ भन्ने कुरा अन्तर्राष्ट्रिय जगतका लागि चासोको विषय हुन्थ्यो। अद्भुत क्षमता र व्यवहारकुशलताका धनी बीपी अन्तर्राष्ट्रिय स्तरका राजनेताका रूपमा सुपरिचित थिए, जो नेपाल र नेपालीका लागि गौरवको विषय हो।
नेपालको राजनीतिमा बीपी कोइराला एक युगद्रष्टा व्यक्तित्व प्रमाणित भएका छन्। उनले उन्नत र समृद्ध मुलुकको सपना देख्नेमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि बनाएका थिए। झण्डै १८ महिनाको उनको प्रधानमन्त्रीत्वकाल प्रजातान्त्रिक अभ्यासका लागि स्वर्णकाल मानिन्छ। यो अवधि देशको आधुनिकीकरण र विकासको दिशामा एक प्रस्थानबिन्दु मात्र थिएन, बरु स्पष्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको सुरुआत पनि थियो। विश्व समाजवादी आन्दोलनका प्रखर नेता बीपीको नेतृत्वमा नेपालमा समाजवादको मौलिकीकरणको जग बस्न सकेको थियो। आज नेपालको विकासको खाका बीपीकै चिन्तनमा आधारित छ भन्नु असंगत हुँदैन।
आज देशमा ‘समावेशीकरण’को निकै चर्चा हुन्छ। देशको प्रधानमन्त्री नै मधेशी समुदायबाट हुने अवस्थाको सिर्जना भएको छ। यो अवधारणाले सार्थक अर्थ पाउन सकेको बीपीकै कारणले हो भन्दा गलत हुँदैन। उनले जनताकेन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए। वहिष्करणमा परेका जात, समुदाय र भूगोललाई राज्यको मूलधारमा ल्याउने अवधारणाको कार्यान्वयन उनैले थालेका हुन्।
आज समावेशीका नाममा राजनीति गर्नेले बुझ्नुपर्ने कुरा के छ भने बीपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादन मात्र होइन, कार्यान्वयन नै गरेका थिए। समावेशीकरणको आधार बीपीले २०१५ सालमै खडा गरेका हुन्। उनको मन्त्रिमण्डल र प्रधानमन्त्रीत्वकालमा भएका नियुक्तिहरू हेर्दा देशका सबै भूगोल, जातजाति, वर्ग र समुदायको प्रतिनिधित्व भएको पाइन्छ। बीपीले समावेशीकरणको अवधारणालाई सामाजिक न्याय स्थापनाको एक औजारका रूपमा प्रयोग गर्ने प्रयत्न गरेका थिए। दुर्भाग्यवश उनीपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले निरन्तरता पाउन सकेन। उनकै पार्टीले पनि यस अवधारणालाई पर्याप्त महत्व दिएन।
बीपीको आधारभूत मानवीय मूल्य समानतामा आधारित सिद्धान्त थियो। यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने कुरामा उनी दृढ विश्वस्त थिए। राष्ट्रिय एकताको निर्माण र प्रवर्द्धनका लागि समावेशी अवधारणा एक महत्वपूर्ण संयन्त्र हुनसक्छ भन्ने उनको स्पष्ट बुझाइ थियो। उनको विश्वास थियो, सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ।
बीपीको सरकारले अंगीकार गरेको समाजवादी आर्थिक नीति र कार्ययोजनाहरू हेर्दा उनले सामूहिक र समावेशी नीतिकै आधारमा देशको विकास गर्न चाहेको स्पष्ट देखिन्छ। उनले मधेशमा हुलाकी सडक र पहाड-हिमालमा उत्तर-दक्षिण सडक निर्माणमा जोड दिए। यसको अर्थ स्पष्ट थियो — बढीभन्दा बढी जनतालाई एकापसमा जोड्नुपर्छ, देशका भूगोलहरू सहजरूपमा जोडिनुपर्छ र अल्पसंख्यकलाई पनि चम्किने अवसर प्राप्त हुनुपर्छ।
के बीपीको नीति आजको अवस्थामा सान्दर्भिक छ? निश्चयनै छ। नेपाल आज संघीयतामा गएको छ, संविधान संशोधनको बहस भइरहेको छ, भूराजनीतिक अवस्था संवेदनशील छ र विश्वमा कट्टरपन्थले स्थान ओगट्दैछ। यस्तो जटिल परिवेशमा बीपीले देखाएको बाटोको सान्दर्भिकता अझ बढेको छ। कुनै पनि देशको विकास प्रक्रियामा जनताले स्वामित्व ग्रहण नगरेसम्म विकास सम्भव हुँदैन र यो भावनाको विकास समावेशीकरणको अवधारणा कार्यान्वयनबाट मात्र हुन्छ भन्ने कुरा बीपीले राम्ररी बुझेका थिए। दुर्भाग्यवश उनले आफूले थालेका कार्यक्रम र योजनाहरूको कार्यान्वयन गर्न पर्याप्त समय पाएनन्।
नेपाली राजनीति षड्यन्त्रको शिकार भयो। मुलुकले लामो समयसम्म एकदलीय निरंकुशता, सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरता भोग्नुप¥यो। अहिले मुलुकमा लोकतन्त्र छ, नयाँ परिवेश छ र नयाँ नेतृत्व छ। गत भदौको जेनजी आन्दोलनपछि देश नयाँ ढंगले कोल्टे फेर्ने प्रयत्नमा छ। यस अवस्थामा बीपीका विचारहरू झनै सान्दर्भिक बनेका छन्। अहिले सत्तामा रहेको दलले बीपीकै विचारलाई आत्मसात गरेर आफ्नो निर्देशकीय सिद्धान्त तय गरेको स्पष्ट छ। बीपीको कालजयी विचारको इमानदारीपूर्वक अनुसरण गरेर देश विकासलाई गति दिन सकिने वातावरणको निर्माण हुनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
(लेखक राष्ट्रिय समाचार समिति र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।)
