काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, मूल स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई आयुर्वेदिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नेमा विशेष जोड दिइयो।
मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको बताउँदै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने धारणा राखिन्। सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन्।
छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष चर्चा भयो। यी संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता बढाउँदै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ।
सहभागीहरूले आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृंखला विकास गर्ने र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जीएमपी मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सुझाव दिए।
छलफलमा मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक संघ र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरू सहभागी थिए। मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य योजना र नीतिगत निर्णयमार्फत क्रमशः अघि बढाउने जनाएको छ।
