काठमाडौं। वरिष्ठ पत्रकार एवं लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई तिहाइ बहुमत र बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालको दुई तिहाइ नजिकको अवस्थाबीच कुनै तुलना हुन नसक्ने बताएका छन्।\n\nवि.सं. २००७ साल फागुन ७ गते भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले भारी बहुमत ल्याएको थियो। तर त्यस समय र हालको परिस्थितिबीच तुलना गर्न नमिल्ने विरहीको स्पष्ट धारणा छ।\n\nउनले भने, ‘रास्वपाले दुई तिहाई ल्यायो भन्दैमा बीपीको समयमा आएको दुई तिहाईसँग तुलना गर्न सकिँदैन। त्यसबेला मूल्य–मान्यतामा आधारित राजनीतिक दलहरू थिए र सोही आधारमा मतदान भएको थियो। अहिले त रास्वपाले आफ्नो सिद्धान्त र नीति नै भर्खर तयार पारिरहेको छ। पहिलो अधिवेशन नै चुनावपछि आयोजना गरेर नीतिहरू बनाइरहेको छ। उनीहरू आफैँ भनिराखेका छन्— नयाँ भएकाले केही कमीकमजोरी हुनसक्छ, हाम्रो नियतमाथि शंका नगर्नु भनेर। त्यसैले हालको चुनावी परिणाम नीति, सिद्धान्त र विचारको होइन।’\n\nनेपालको पछिल्लो राजनीतिक अस्थिरता, जनआक्रोश र नयाँ विकल्पको खोजीका बीच जनताले भोट दिएको विरहीको बुझाइ छ। उनले भने, ‘उहाँहरूको तालुमा आलु फल्यो भनौँ— रास्वपालाई आएको भोट त्यही हो। रास्वपामा नयाँ र पढेलेखेका युवाहरू छन्, तर कसले टिकट पाए भन्ने कुरा नेतृत्वलाई नै थाहा नहोला। मतदाताहरूले उनीहरूको अनुहार पनि देखेका छैनन् र चुनावपछि उनीहरू जनताबीच धन्यवाद दिन पनि गएका छैनन्।’\n\nसरकारसँग निराश भइहाल्नु पर्दैन\n\nवर्तमान सरकारप्रति अहिलेनै निराश हुनुपर्ने अवस्था नआएको विरहीको भनाइ छ। ‘लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा आएको छ, केही गर्छु भन्न खोजिराखेको छ। केही मौका र समय दिनुपर्छ,’ उनले भने, ‘तर अहिले जुन लक्षण देखिएको छ, त्यो अपेक्षा अनुरूप छैन। वाचा गरेअनुसारको गति र नयाँ काम भएको छैन।’\n\nपहिलेका नियुक्तिहरू खारेज गर्ने, प्रेसले पाउँदै आएका सुविधाहरूमाथि अंकुश लगाउने, सरकारी मिडियाबाहेक अरू मिडियाको आवश्यकता नभएको जस्तो व्यवहार गर्ने, संसदप्रति उत्तरदायी नहुने र सांसदहरूको कुरा सम्बोधन नगर्ने मानसिकता देखिएको उनको गुनासो छ। ‘मतको दुरुपयोग हुने हो कि भन्ने चिन्ता चाहिँ छ,’ उनले भने।\n\nबीपी कोइरालाले आफ्नो आलोचना गर्नकै लागि पैसा दिएर पत्रिका निकाल्न लगाएको स्मरण गर्दै विरहीले भने, ‘आलोचना गर्नु नराम्रो कुरा होइन भन्नेमा बीपी सचेत हुनुहुन्थ्यो। तर अहिले आलोचना सुन्नै नसक्ने, कसैले आलोचना गर्यो भने गालीको वर्षा आउँछ। यो गलत काम र गलत रणनीति हो। यस्ता कामहरू संविधानविपरीत रहेछन् भनेर अदालतले एकपछि अर्को निर्णय दिइरहेकाले थोरै राहत भएको छ।’\n\nसंविधानप्रति जिम्मेवार बन्न जरुरी\n\nसंविधान परिमार्जनको आवश्यकता रहे पनि त्यसका लागि भरपर्दो वातावरण नदेखिएको विरहीको भनाइ छ। ‘जुन पार्टीले संविधानको अभ्यासमा सहभागिता जनाएको छैन, आफ्नो राजनीतिक दृष्टिकोण नै स्पष्ट गरेको छैन, जसका कतिपय मुख्य नेताहरू अझै राजतन्त्र ल्याउन खोज्छन्— त्यस्तो अवस्थामा अरू पार्टीहरू संविधान संशोधनमा सहमत हुन्छन् भन्ने विश्वास छैन। सुरुदेखि अन्तिमसम्मको धाराहरू एकैपटक बदल्न खोज्दा देश प्रतिगमनतिर जाने हो कि भन्ने आशंका आम नागरिक र बौद्धिक समाजमा छ,’ उनले भने।\n\nसंविधान संशोधनको सन्दर्भमा कांग्रेस, एमाले र नेकपाहरू संयमित ढंगले काम गरिरहेको भए पनि विरोध गर्दा सत्ता गुम्ला भन्ने डरले उनीहरू त्रसित रहेको विरहीको अनुमान छ।\n\nजनताको अधिकार खोस्नु आत्मघाती\n\nवर्तमान सरकारले जनताका अधिकार खोस्ने साहस गर्ला भन्नेमा विरही विश्वस्त छैनन्। ‘इतिहास थाहा भएकाहरू पार्टीभित्र पनि छन्। फ्रान्समा राजाहरू काटिए, विश्वका कयौँ देशमा राष्ट्रपतिसम्म काटिए। जनभावनाविपरीत जाँदा परिणाम राम्रो आउँदैन भन्ने उनीहरूलाई थाहा होला। जनताको अधिकार खोस्ने दिशामा जाने हो भने त्यो आत्मघाती कदम हुन्छ,’ उनले भने।\n\nउनले थपे, ‘अघिल्ला सरकारहरूले गरेका उदार कामहरूलाई निरन्तरता दिनुपर्छ। जनताले अझ राम्रो परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त अवस्थाको अपेक्षा राखेका छन्। यो अझ बढी इमानदारी र प्रतिबद्धता प्रदर्शन गर्ने समय हो।’\n\nसंसद् विघटन, प्रतिपक्षको कुरा नसुन्ने र मिडियाको मनोबल गिराउने काम अघिल्ला सरकारहरूले पनि गरे तर सफल भएनन् भन्दै विरहीले हालको सरकारलाई पनि यो बाटो गलत रहेको ख्याल गर्न आग्रह गरे।\n\nसरकार र मिडियाबीचको द्वन्द्व पुरानै\n\nसरकार र मिडियाबीचको द्वन्द्व नयाँ नभएको उल्लेख गर्दै विरहीले भने, ‘मिडियाको काम सरकारको आलोचना गर्ने र जनतालाई सुसूचित गर्ने हो। निजी मिडियालाई विज्ञापन वा सहयोग नदिने नीति अपनाउनु प्रेस–विरोधी नीति हो। यो जनताको आवाज दबाउने मानसिकताको अभिव्यक्ति हो। यस्तो इच्छा होला तर यो टिक्ने कुरा होइन।’\n\nबीपी कोइराला केवल नेता मात्र थिएनन्\n\nविरहीका अनुसार बीपी कोइराला एउटा राजनीतिक नेतामात्र थिएनन्, उनी प्रत्येक क्षेत्रमा प्रगतिशील सपना बोकेका र त्यसलाई अगाडि बढाउन सक्ने व्यक्ति थिए। ‘राष्ट्र बलियो होस्, जनतामा आर्थिक समानता लागू होस्, जनताभन्दा ठूलो कुनै शक्ति छैन भन्ने मान्यता स्थापित होस् भन्ने उहाँको सपना थियो। बीपीको राजनीतिक दर्शनको मूल आधार नै जनताको सर्वोच्चता र नागरिकको वैयक्तिक स्वतन्त्रता थियो,’ उनले भने।\n\nबीपीको इमानदारिताको उदाहरण दिँदै विरहीले भने, ‘उहाँ गृहमन्त्री हुँदा प्रहरीको गोलीले एक विद्यार्थीको मृत्यु हुँदा मन्त्री पदबाट राजीनामा दिनुभयो। आफ्नै दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला पार्टीको नीति नमाने भनेर राजीनामा दिन निर्देशन दिनुभयो, र नमानेपछि पार्टीबाट नै निष्कासन गर्नुभयो। यो नै बीपीको निष्ठा थियो।’\n\nबीपीले सोचेका धेरै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनहरू भएका छन्। जननिर्वाचित संविधानसभाबाट संविधान बनेको छ, जनता सर्वोच्च शक्ति भन्ने मान्यता स्थापित भएको छ। तर यी उपलब्धिहरू जनतासमक्ष राम्रोसँग पुर्याइएन भन्ने उनको गुनासो छ।\n\n’पार्टीहरूले बीपीको विचार त अनुसरण गरे, तर उनको आदर्शलाई भने छाडिदिए। आदर्श दुर्घटनामा पर्यो। नैतिक मूल्य–मान्यता पालना गर्ने, आलोचना सुन्ने, विरोधीलाई पनि साथ लिएर हिँड्ने प्रवृत्ति हालका नेताहरूमा देखिँदैन,’ उनले भने।\n\nकांग्रेसका नेताहरूले राष्ट्रियता, लोकतन्त्र र समाजवा
राजनीतिक दलहरूले बीपीको विचार अनुसरण गरे, तर आदर्श भने बिर्सिए : हरिहर विरही
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
