समाचार

सर्लाहीमा एक महिनामा ५० जना हराए, अझै २७ को खोजी जारी

By अर्जुन भट्टराई •

सर्लाहीमा एक महिनामा ५० जना हराए, अझै २७ को खोजी जारी

सर्लाही । सर्लाही जिल्लामा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन।

प्रहरीको विवरण अनुसार हराउनेमध्ये १७ जना महिला, २६ जना बालिका, ३ जना बालक र ४ जना ज्येष्ठ नागरिक रहेका छन्। उल्लेखनीय कुरा के छ भने उक्त अवधिमा कुनै पनि पुरुष हराएको दर्ता भएको छैन। हराउनेमध्ये बालिकाको संख्या सबैभन्दा बढी रहेको छ, जुन चिन्ताको विषय बनेको छ।

असार महिनामा प्रहरीले ९ जना महिला, १२ जना बालिका, १ जना बालक र १ जना ज्येष्ठ नागरिक गरी कुल २३ जनालाई फेला पारेको जनाएको छ। बाँकी २७ जना अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सर्लाहीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक हराउने घटना पछिल्ला केही महिनादेखि निरन्तर देखिँदै आएको छ। प्रत्येक महिना केही जना फेला परे पनि उल्लेख्य संख्यामा मानिस सम्पर्कविहीन रहने क्रम दोहोरिइरहेको छ।

सर्लाही सीमावर्ती जिल्ला भएकाले भारतसँगको खुला सीमाको दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकायबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्। साथै, परिवार, विद्यालय, स्थानीय तह र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै बालबालिकामाथिको निगरानी थप कडा बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.