काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक विशेष कार्यक्रममा प्रोटोन ‘ई मास फाइभ’ लाई प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा सार्वजनिक गरेको हो ।
प्राइम भेरिएन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कार रेयर ह्वील ड्राइभ अप्सनमा आएको छ ।
यसअघि जगदम्बा मोटर्सले प्रोटोनको ‘ई मास सेभेन’ नेपाली बजारमा ल्याइसकेको छ ।
ब्याट्री र रेन्जका कुरा गर्दा, प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ, जसले एक पूर्ण चार्जमा २२५ किमीसम्म दौड्न सक्छ । प्रिमियम भेरिएन्टमा भने ४०.१६ किलोवाट आवरको ब्याट्री छ, जसले ३२५ किमीसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
मोटरको क्षमताका हिसाबले प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।
कारको भित्री सजावटमा १४.६ इन्चको ठूलो स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफंक्सनल स्टेयरिङ ह्वील, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्री जस्ता आधुनिक सुविधाहरू समावेश छन् । सुरक्षाका दृष्टिले कारमा ६ वटा एयरब्याग, एडास प्रणाली र ३६० डिग्री क्यामेरा राखिएका छन् ।
उल्लेखनीय छ कि प्रोटोन ई मास फाइभले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ उपाधि पनि हासिल गरिसकेको छ ।
