समाचार

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु, २२ सामुदायिक विद्यालयका विद्यार्थीलाई विरुवा वितरण

By अर्जुन भट्टराई •

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु, २२ सामुदायिक विद्यालयका विद्यार्थीलाई विरुवा वितरण

जनकपुर । धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान औपचारिक रूपमा सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाको सचिवालयले यो अभियान सञ्चालन गरेको हो। अभियानको पहिलो चरणमा ५ हजारदेखि ७ हजारसम्म बिरुवा उक्त क्षेत्रका विद्यार्थीहरूलाई वितरण गरिने रास्वपा जनकपुरधामका नेता जितेन्द्र महासेठले जानकारी दिए।

नेता महासेठका अनुसार विगतमा बोटबिरुवा रोप्ने काम धेरै भए पनि ती बिरुवाको उचित संरक्षण हुन नसकेको अनुभवबाट सिक्दै यसपटक विद्यार्थीहरूलाई नै संरक्षणको जिम्मेवारी दिने उद्देश्यले यो अभियान सुरु गरिएको हो। उनले भने कि यस अभियानले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै विद्यार्थीहरूमा जिम्मेवारीको भावना पनि जगाउनेछ।

धनुषा क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आज बिरुवा वितरण गर्ने कार्यक्रम राखिएको छ। प्रत्येक विद्यालयमा हरियाली प्रवर्द्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको महासेठले बताए।

अभियानका लागि वन डिभिजन कार्यालयले निम, जामुन र तेजपत्ता लगायतका बिरुवाहरू उपलब्ध गराएको छ। अभियानको शुभारम्भ जनकपुरधामको ऐतिहासिक ज्ञानकुप विद्यालयका करिब १ हजार विद्यार्थीलाई बिरुवा हस्तान्तरण गरेर गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.