काठमाडौं। नेपाल टेलिकमले देशका दुर्गम पहाडी तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने अभियानलाई थप तीव्र बनाएको छ। यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ।
भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नम्बर २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका स्थानीयहरू लाभान्वित भएका छन्। यसका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरूमा पनि सेवा पुगेको छ।
बारा जिल्लामा मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया र कलैयामाई लगायतका क्षेत्रका ४ वटा विद्यालय क्षेत्र लाभान्वित भएका छन् भने भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक र सिम्रौनगढ क्षेत्रका ५ वटा विद्यालय क्षेत्र आसपासका बस्तीहरूले सेवा पाउन थालेका छन्।
रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका नजिकका बस्तीहरू लाभान्वित भएका छन्। नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा बाहुनबेसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा पाउन थालेका छन्।
नेपाल टेलिकमका अनुसार यस सेवा विस्तारले स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक कार्य र डिजिटल बैंकिङलाई सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
