काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभव भएको बताएका छन्।
मंगलबार सरकारसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ। देशको अर्थतन्त्र नै सरकार हो। अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन। मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरे मात्र यो देश बन्छ। हामी सबै उत्साहित छौँ।’
आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको विस्तार आवश्यक रहेको जोड दिँदै उनले तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए।
उनले थपे कि तयारी पोशाक उद्योग संघले विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न माग गर्दै आएको छ। सरकारले उक्त उद्योग आफैँ सञ्चालन गर्ने निर्णय गरेकोमा उनले यसलाई सकारात्मक कदमको रूपमा स्वागत गरे।
