समाचार

चन्द्रागिरि साकोसले जित्यो विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’, नेपालमा पहिलो पटक

By अर्जुन भट्टराई •

चन्द्रागिरि साकोसले जित्यो विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’, नेपालमा पहिलो पटक

काठमाडौं । नेपाली सहकारी अभियानले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्व ऋण परिषद् (ओकू) को प्रतिष्ठित ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ आफ्नो नाममा गरेको छ । यो अवार्ड पाउने चन्द्रागिरि नेपालकै पहिलो संस्था बनेको छ ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित ओकूको वार्षिक साधारणसभा तथा विश्व क्रेडिट युनियन सम्मेलनमा सोमबार यो अवार्ड प्रदान गरिएको हो । ओकूका अध्यक्ष माइकल लरेन्स र प्रमुख कार्यकारी अधिकृत पल ट्रेनिनले संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

सदस्य सेवामा डिजिटल प्रविधिको प्रभावकारी उपयोग, सेवा प्रवाहलाई छिटो, सहज र विश्वसनीय बनाएको कार्य तथा संस्थागत डिजिटल रूपान्तरणमा हासिल गरेको उल्लेखनीय प्रगतिलाई मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई यो सम्मान दिएको हो । यस अवार्डका लागि विश्वभरका सदस्य संस्थाबीच कडा प्रतिस्पर्धा भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले यो अवार्डले संस्थाको प्रविधिमैत्री सेवाप्रतिको प्रतिबद्धतालाई थप बल दिएको बताए । उनले यो सम्मान संस्थाका सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी र सबै साझेदारको सामूहिक परिश्रमको फल भएको उल्लेख गर्दै आगामी दिनमा थप गुणस्तरीय र नवप्रवर्तनयुक्त सेवा प्रदान गर्न प्रतिबद्ध रहने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले यो उपलब्धिलाई नेपालको सम्पूर्ण बचत तथा ऋण सहकारी अभियानका लागि प्रेरणादायी सफलता भएको बताए । उनका अनुसार विश्वस्तरको संस्थाबाट प्राप्त यो सम्मानले नेपाली सहकारी संस्थाहरू प्रविधि प्रयोग र सदस्य सेवाको गुणस्तरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न पूर्णतः सक्षम रहेको पुष्टि गर्छ ।

डा. सापकोटाले थपे कि पछिल्लो समय सहकारी क्षेत्रबारे विभिन्न नकारात्मक धारणा फैलिरहेका बेला यस्तो अन्तर्राष्ट्रिय सम्मानले नेपाली सहकारीप्रतिको जनविश्वास पुनः बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.