समाचार

आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, सहजीकरण गर्ने प्रतिबद्धता

By अर्जुन भट्टराई •

आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, सहजीकरण गर्ने प्रतिबद्धता

काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा बसिरहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले मंगलबार मन्त्रालयमा भेटवार्ता गरिन्।

भेटका क्रममा बिनु यादवले आफ्नो मुद्दासम्बन्धी न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन र आफ्ना मागहरूबारे मन्त्रीसमक्ष धारणा राखिन्। यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन गरिदिन आग्रह गर्दै उनले मन्त्रालयमा लिखित निवेदनसमेत पेश गरिन्।

मन्त्री बादीले बिनु यादवको विषयमा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरिन्। सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिका निभाउने उनले स्पष्ट पारिन्।

भेटवार्तामा बिनु यादवको स्वास्थ्य अवस्था र जीविकोपार्जनसँग जोडिएका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अधिकारक्षेत्रभन्दा बाहिरका विषयहरू सम्बन्धित निकायमा पठाइने विषयमा पनि कुराकानी भएको थियो।

मन्त्री बादीले नागरिकका गुनासा र सरोकारप्रति सरकार सधैं संवेदनशील रहने बताउँदै संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको उल्लेख गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.