काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार प्रहरीले लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका—८ सिमपानीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१—०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम बरामद गरेको छ। यस क्रममा गाडीका चालक धादिङको गजुरी नगरपालिका—७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ लगायत दुई जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।
कैलालीको टीकापुर नगरपालिका—९ खक्रौलामा भने प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सोही नगरपालिका—३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित बुधबार बिहान पक्राउ गरेको छ।
बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ बजारमा प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार बढैयाताल गाउँपालिका—६ बस्ने २४ वर्षीय आशिष थारूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७० मिलिग्राम सहित बुधबार दिउँसो पक्राउ गरेको छ।
पक्राउ परेका सबैका विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।
