अर्थ

सेयर बजार सुधारका लागि सेबोनको ठोस योजना: कारोबार शुल्क घटाइने, फिनइन्फ्लुएन्सर्समाथि कडा निगरानी हुने

By अर्जुन भट्टराई

सेयर बजार सुधारका लागि सेबोनको ठोस योजना: कारोबार शुल्क घटाइने, फिनइन्फ्लुएन्सर्समाथि कडा निगरानी हुने

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजारमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ। बोर्डले जारी गरेको प्रेस नोटअनुसार लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागत घटाउने विषय आगामी वर्षका मुख्य प्राथमिकतामा रहेका छन्।

सामाजिक सञ्जालमार्फत हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले नियामक निगरानी थप कडा बनाउने भएको छ। धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर–निकाय समन्वय सुदृढ पार्दै लगानीकर्ताको हित संरक्षण गर्ने बोर्डको लक्ष्य रहेको छ।

बजारलाई थप व्यवस्थित बनाउन सार्वजनिक निष्कासन (आईपीओ) अघि कम्पनीहरूको वित्तीय तथा व्यवस्थापकीय पक्षको गहन अध्ययन गरिनेछ। साथै, ‘मार्जिन कारोबार’ पूर्ण रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जसँग आवश्यक समन्वय गरिनेछ।

लगानीकर्ताहरूको लामो समयदेखिको माग रहेको कारोबार लागत घटाउने सन्दर्भमा बोर्डले प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएको छ। नेप्से सूचकाङ्कलाई थप वैज्ञानिक बनाउन कारोबारयोग्य सेयरका आधारमा नयाँ ‘बेन्चमार्क सूचकाङ्क’ विकास गर्ने योजना पनि अघि सारिएको छ।

सामूहिक लगानी कोषको ‘लक–इन’ अवधि र बाँडफाँटसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने नीति बोर्डले लिएको छ। सामाजिक सञ्जाल प्रयोग गरी संगठित संस्थाहरूले गर्ने पुँजी संकलनलाई पनि नियमनको दायरामा ल्याइनेछ।

पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन बोर्डले आगामी दशकका लागि ‘पुँजी बजार विकास मार्गचित्र’ समेत तयार पारेको छ। यी सुधारात्मक कदमहरूले राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.