समाचार

रौतहटमा युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाए, ३१.५ प्रतिशत जलेर गम्भीर घाइते

By अर्जुन भट्टराई

रौतहटमा युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाए, ३१.५ प्रतिशत जलेर गम्भीर घाइते

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९, गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्महत्याको प्रयास गरेका छन्।

देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य कुनै कारणले यस्तो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ। यस घटनामा उनको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको रौतहट प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले जानकारी दिए।

घटनापछि तत्काल उनलाई गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र उनका बुवा उपचारमा साथ रहेको प्रहरीले बताएको छ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा घाइते युवकका परिवारका सदस्यहरूले उनी मानसिक रोगको औषधि सेवन गर्दै आएको र घटनाका बेला मादक पदार्थ सेवन गरेको बताएका छन्। प्रहरीले यस घटनाको थप अनुसन्धान जारी राखेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.