समाचार

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय अर्को पेसीमा

By अर्जुन भट्टराई

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय अर्को पेसीमा

जनकपुर । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले यो फैसला सुनाएको हो । तर सजाय कति हुने भन्ने निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ ।

मुद्दामा पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरेका थिए भने बचाउ पक्षबाट अधिवक्ता विजय मिश्रसहित १४ जना वकिलले बहस गरेका थिए ।

आरोप के थियो भने, २०८१ साल जेठ ४ गते अहिराजले कोठामा कोही नभएको मौकाको फाइदा उठाउँदै पीडितमाथि पटकपटक बलात्कार गरेका थिए । घटनापछि कसैलाई बताए ज्यान मार्ने धम्की समेत दिएको पीडितको भनाइ छ ।

यस मुद्दामा २०८१ साल माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । तथापि प्रहरीले तत्काल पक्राउ अनुमति नलिई २०८१ चैत २५ गते मात्र काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । त्यसपछि अहिराज २०८२ साल साउन ४ गते पक्राउ परेका थिए ।

राजेश अहिराज (राजेश झा) पत्रकार, मधेशवादी कार्यकर्ता र मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक समेत हुन् । उनले मधेश आन्दोलन र मधेशवाद विषयमा पीएचडी गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए र २०७८ साउन ३२ सम्म उक्त पदमा रहेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.