काठमाडौं । नेपाल आयल निगम लिमिटेडले असार ३१ गतेदेखि देशभर १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण पुनः सुरु गरेको छ। ग्यास आपूर्ति सहज भएसँगै निगमले पुरानै प्रणाली लागू गर्ने निर्णय गरेको हो।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
यसअघि भारतबाट ग्यास आयातमा समस्या देखिएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ केजीमा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो। अहिले आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था फिर्ता ल्याइएको निगमले जनाएको छ।
निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै उपलब्ध हुन सक्ने भएकाले उपभोक्तालाई ग्यास किन्दा सिलिन्डरको तौल र मूल्य राम्ररी जाँचेर मात्र किन्न आग्रह गरिएको छ।
साथै, निगमले आवश्यकताभन्दा बढी ग्यास किनेर घरमा भण्डारण नगर्न र सहज आपूर्ति कायम राख्न सबैको सहयोग आवश्यक रहेको पनि उपभोक्तासँग अनुरोध गरेको छ।
