समाचार

कोशी प्रदेशका कर्मचारीले अब बुधबार र शुक्रबार ढाका–खादीको पोशाक लगाउनुपर्ने

By अर्जुन भट्टराई

कोशी प्रदेशका कर्मचारीले अब बुधबार र शुक्रबार ढाका–खादीको पोशाक लगाउनुपर्ने

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एउटा महत्त्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको छ। अब प्रदेश सरकारअन्तर्गत कार्यरत सबै कर्मचारीले हरेक बुधबार र शुक्रबार ढाका, खादी (खाँडी) वा अल्लोजस्ता स्थानीय कपडाबाट बनेको अफिस पोशाक अनिवार्य रूपमा लगाउनुपर्नेछ।

आर्थिक वर्ष २०८२/८३ देखि लागू भएको यो व्यवस्था मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लागू गरेको हो। यसअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले बुधबारदेखि नै स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन शुरू गरिसकेका छन्।

कर्मचारीलाई यो अभियानमा प्रोत्साहन गर्न सरकारले पहिलेदेखि नै दिँदै आएको नियमित पोशाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५०० रुपैयाँ थप गरी विशेष पोशाक सुविधा पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ देखि स्थानीय तहले पनि यो अभियान लागू गर्न चाहेमा प्रदेश सरकारले लागत साझेदारीको आधारमा आवश्यक बजेट उपलब्ध गराउनेछ। उनले यस अभियानले ढाका, खादी र अल्लोजस्ता स्वदेशी कपडाको उत्पादन, प्रयोग र बजारीकरणलाई सहयोग पुग्ने बताए। यसबाट स्थानीय उद्योग, उद्यमी र उत्पादक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ कर्मचारी कार्यरत रहेका छन् भने स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी छ। कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाएर स्वदेशी उद्योगको प्रवर्द्धन गर्दै प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउनु यस अभियानको मुख्य लक्ष्य रहेको सरकारले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.