समाचार

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ सम्म म्याद

By अर्जुन भट्टराई

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ सम्म म्याद

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।

बुधबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दरखास्त माग गरेको हो। दरखास्त दिने अन्तिम म्याद साउन ८ गतेसम्म रहेको छ।

उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत जानकारी सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

विज्ञापन बोर्डले नेपाल सरकारबाट सञ्चार माध्यमहरूलाई उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा समानुपातिक रूपमा वितरण गर्ने काम गर्दछ। साथै वस्तु वा सेवाको बजार प्रवर्द्धन, बिक्री तथा वितरणका लागि गरिने विज्ञापन र सो सम्बन्धी व्यवसायलाई नियमन गर्ने जिम्मेवारी पनि यसैको हो।

विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तयार गरी मन्त्रालयमा सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रसारण हुने विज्ञापनको सामग्री परीक्षणका लागि मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचार संहिता बनाउने तथा राष्ट्रिय र सार्वजनिक हितका विज्ञापन निर्माण गरी प्रकाशन एवं प्रसारणमा प्रोत्साहन गर्ने काम पनि विज्ञापन बोर्डकै जिम्मामा पर्दछन्।

यसका अतिरिक्त विज्ञापन व्यवसाय र व्यवसायीको योग्यता तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालनमा सिफारिस गर्ने, उपभोक्ता सजगतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, विज्ञापन क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने र विज्ञापन उत्पादक, निर्माता, वितरक तथा प्रसारकलाई आवश्यक निर्देशन दिने काम पनि विज्ञापन बोर्डको कार्यक्षेत्रभित्र पर्दछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.