काठमाडौं । निर्माता जनक घर्ती मगरले आफ्नो नयाँ चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले यो नयाँ चलचित्र बनाउने जानकारी दिएका हुन् । उनको अघिल्लो चलचित्र ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै यो घोषणा आएको छ।
चलचित्र ‘आकाश वर्षा’को निर्देशन सुदीप भजुले गर्नेछन् र यो जीएम मुभी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुनेछ। सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य छ, जसको पृष्ठभूमिमा बादल र पहाड देखिन्छन्। यो दृश्यले मानिसको जीवनका दुःख, सुख र संघर्षलाई समेट्ने संकेत गर्छ भने सिमसिम पानीले जीवनको खुसीको पनि इशारा गर्छ।
चलचित्रमा को-को कलाकार र प्राविधिक रहनेछन् भन्ने जानकारी भने अहिलेसम्म दिइएको छैन।
पछिल्लो समय लभस्टोरी चलचित्र कमै बन्दै आएको बेलामा जनकले यही विधाको चलचित्र बनाउने भएका छन्। यसअघि उनले ‘घरज्वाइँ’ र ‘मितज्यू’ गरी दुईवटा सोसल ड्रामा चलचित्र निर्माण गरेका थिए।
चलचित्रको कथा-परिकल्पना निर्माता जनक स्वयंको हो भने पटकथा लेखनको जिम्मेवारी अमीर मगरले लिएका छन्। चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले गर्नेछ।
